सुनसरी घटनाको विरोधमा विराटनगरमा प्रदर्शन, बजार र यातायात प्रभावित
२०८३ श्रावण १५, शुक्रबार १३:०१
विराटनगर, साउन १५ विराटपाटी , सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटनाप्रति विरोध जनाउँदै शुक्रबार विराटनगरमा विभिन्न स्थानमा प्रदर्शन गरिएको छ। प्रदर्शनका क्रममा केही स्थानमा टायर बालिएका छन् भने बजारका अधिकांश पसल बन्द भएका छन्। सार्वजनिक यातायात सेवा पनि प्रभावित भएको छ।
कप्तानगञ्जमा केही दिनअघि दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको थियो। घटनापछि सरकार र पीडित परिवारबीच शुक्रबार बिहान सहमति भएको र मृतकहरूको अन्त्येष्टिको तयारी अघि बढाइएको भए पनि त्यसको विरोधमा विराटनगरमा प्रदर्शन जारी रहेको हो।
यसअघि बिहीबार बसेको सर्वपक्षीय बैठकले दिउँसो ३ बजे सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको थियो। तर केही समूहले अहिलेको परिस्थितिमा यस्तो र्याली निकाल्नु उपयुक्त नहुने भन्दै असहमति जनाएका थिए। त्यसैबीच सडकमा प्रदर्शन भएपछि बजार क्षेत्रको जनजीवन केही समय प्रभावित बनेको छ।
प्रशासनले नागरिकलाई संयमता अपनाउन, अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ। सुरक्षा व्यवस्था थप कडा पारिएको छ भने परिस्थितिलाई सामान्य बनाउन सरोकारवाला पक्षबीच निरन्तर समन्वय भइरहेको जनाइएको छ।




