काठमाडौं । नेपाल राष्ट्र बैंकको स्थलगत निरीक्षणका क्रममा सप्तकोशी डेभलपमेन्ट बैंकमा आन्तरिक नियन्त्रण प्रणालीसँग सम्बन्धित गम्भीर कमजोरीहरू भेटिएको जनाइएको छ।

निरीक्षणका क्रममा केही कर्मचारीले ग्राहकको खातामा अनधिकृत पहुँच गरेको, भल्टमा रहेको नगद व्यवस्थापनमा अनियमितता देखिएको तथा यस्ता विषयमा बैंकले समयमै प्रभावकारी छानबिन र आवश्यक सुधार नगरेको राष्ट्र बैंकको निष्कर्ष रहेको छ।

राष्ट्र बैंकले बैंकलाई आफ्नो आन्तरिक नियन्त्रण प्रणाली, नीति तथा कार्यविधि पुनरावलोकन गरी सुधार गर्न निर्देशन दिएको छ। साथै, राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्था अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूलाई सचेत गराइएको जनाएको छ।

यस घटनाले बैंकिङ क्षेत्रमा सुशासन, पारदर्शिता, ग्राहकको खाताको सुरक्षा तथा प्रभावकारी आन्तरिक नियन्त्रण प्रणालीको आवश्यकता अझ स्पष्ट रूपमा उजागर गरेको छ। बैंकलाइ अब कमजोरी सुधार गर्दै ग्राहकको विश्वास कायम राख्न राष्ट्र बैकले निर्देशन दिएको छ