विश्वप्रसिद्ध नेपाली पर्वतारोही तथा कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाई) अब हामीमाझ रहेनन्। पाकिस्तानस्थित ब्रड पिक हिमाल क्षेत्रमा आएको हिमपहिरोमा बेपत्ता भएका उनको निधन भएको पुष्टि भएको हो।

निर्मल पुर्जाले स्थापना गरेको इलाइट एक्सपेड ले सामाजिक सञ्जालमार्फत उनको निधनको आधिकारिक जानकारी सार्वजनिक गरेको छ। उक्त हिमपहिरोमा उनीसहित १० जना आरोही बेपत्ता भएका थिए, जसमध्ये ६ जना नेपाली रहेका थिए। यसअघि चार जनाको शव फेला परिसकेको थियो।

आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल सबैभन्दा छोटो समयमै आरोहण गरी विश्व कीर्तिमान कायम गरेका निर्मल पुर्जाले नेपालको पर्वतारोहण, पर्यटन र अन्तर्राष्ट्रिय प्रतिष्ठालाई अभूतपूर्व उचाइमा पुर्‍याएका थिए। उनको योगदानले नेपाललाई विश्वमञ्चमा गौरवान्वित बनाएको छ।

यस्तो असाधारण योगदानको उच्च सम्मान गर्दै नेपाल सरकारले स्वर्गीय निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने आवाज अहिले चौतर्फी रूपमा उठिरहेको छ। राष्ट्रका लागि उनले पुर्‍याएको योगदानको कदर गर्दै उनलाई राष्ट्रिय विभूतिको सम्मान प्रदान गर्नु नै उनको योगदानप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ।

उनको असामयिक निधनले सम्पूर्ण नेपालीलाई स्तब्ध बनाएको छ। स्वर्गीय निर्मल पुर्जाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं।