विराटनगर । कोशी प्रदेशमा नेकपा (एमाले) भित्रको आन्तरिक विवाद निर्णायक मोडमा पुगेको छ। मुख्यमन्त्री तथा संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई नेतृत्वबाट हटाउने तयारी भइरहेको स्रोतहरूले बताएका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन कार्यान्वयन नभएको र गठबन्धनबारे आवश्यक परामर्श नगरेको आरोप लगाउँदै केही एमाले सांसद नेतृत्व परिवर्तनको पक्षमा सक्रिय भएका छन्। यसैबीच, पार्टीका कोशी इन्चार्ज शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडाले सांसदहरूसँग लगातार भेटघाट गरिरहेको बताइएको छ।

स्रोतका अनुसार ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बोलाई नयाँ मुख्यमन्त्री बनाउने सम्भावनाबारे पनि आन्तरिक छलफल भइरहेको छ। यद्यपि, एमाले संसदीय दलको विधानअनुसार दलको नेता हटाउन दुई तिहाइ बहुमत अनिवार्य भएकाले प्रक्रिया सहज भने देखिएको छैन।

मुख्यमन्त्री कार्की निकट नेताहरूले भने पार्टीभित्र छलफल जारी रहे पनि अन्तिम निर्णय भइनसकेको बताएका छन्। राजनीतिक वृत्तको ध्यान अहिले एमालेको आन्तरिक समीकरण र पार्टी नेतृत्वको आगामी कदमतर्फ केन्द्रित भएको छ।

कोशी प्रदेशको सत्ता समीकरणमा नयाँ मोड आउन सक्ने संकेत देखिएसँगै प्रदेशको राजनीति थप तरंगित बनेको छ।