स्थानीय निर्वाचन लक्षित गर्दै रास्वपाको नयाँ रणनीति
२०८३ श्रावण १९, मंगलवार २०:०७
भदौ १ देखि ‘उम्मेदवार क्लब’ सञ्चालन, इच्छुकलाई प्रशिक्षण दिइने
काठमाडौं, साउन १९। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई व्यवस्थित र योजनाबद्ध बनाउने उद्देश्यसहित भदौ १ गतेदेखि देशभर ‘उम्मेदवार क्लब’ सञ्चालन गर्ने निर्णय गरेको छ।
पार्टीका महामन्त्री विपिन कुमार आचार्यका अनुसार वडा अध्यक्ष, पालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख पदमा चुनाव लड्न इच्छुक व्यक्तिहरूले उम्मेदवार क्लबमा नाम दर्ता गर्न सक्नेछन्। दर्तापछि उनीहरूलाई नेतृत्व विकास, सुशासन, स्थानीय सरकार सञ्चालन, नीति निर्माण तथा जनप्रतिनिधिको जिम्मेवारी सम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिनेछ।
रास्वपाले यस अवधारणालाई स्थानीय तहमा सक्षम, योग्य र उत्तरदायी नेतृत्व तयार गर्ने अभियानका रूपमा अघि सारेको जनाएको छ। उम्मेदवारले निर्वाचित भएपश्चात् कार्यान्वयन गर्ने योजना र प्रतिबद्धता समेत पार्टीसमक्ष प्रस्तुत गर्नुपर्ने व्यवस्था रहनेछ।
यो अवधारणा पहिलो पटक २०८० साल मंसिरमा महोत्तरीमा सम्पन्न केन्द्रीय तथा संसदीय दलको संयुक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले अघि सारेका थिए। त्यसयता पार्टीका विभिन्न नीति तथा संगठनात्मक दस्तावेजमा यसलाई समेटिँदै आएको छ।
रास्वपाको विश्वास छ कि उम्मेदवार छनोटअघि नै प्रशिक्षण र मूल्याङ्कनको व्यवस्था गर्दा स्थानीय तहमा सक्षम जनप्रतिनिधि चयन गर्न सहयोग पुग्नेछ। आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले यस कार्यक्रमलाई आफ्नो प्रमुख संगठनात्मक अभियानका रूपमा अघि बढाउने जनाएको छ।




