काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) ले संगठनभित्रका ३३ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। प्रधान कार्यालयले बिहीबार जारी गरेको निर्णयअनुसार सरुवा आगामी २०८३ भदौ १ गतेदेखि लागू हुनेछ।

सशस्त्र प्रहरी महानिरीक्षकको साउन २१ गतेको निर्णयका आधारमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ तथा नियम ३५ को उपनियम (१) को खण्ड (ग) बमोजिम सरुवा गरिएको जनाइएको छ।

सरुवा भएका अधिकृतहरूलाई सम्बन्धित कार्यालयबाट नियमानुसार तलब, भत्ता र रासन सुविधा उपलब्ध हुने गरी नयाँ कार्यस्थलमा काज तथा पदस्थापन गरिएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ।

यससँगै सरुवासम्बन्धी विवरण अभिलेखमा अद्यावधिक गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयराष्ट्रिय किताबखाना (प्रहरी शाखा) लगायत सम्बन्धित निकायलाई जानकारी गराइएको छ।

संगठनका अनुसार यो नियमित प्रशासनिक प्रक्रिया अन्तर्गत गरिएको सरुवा हो। यसको उद्देश्य जनशक्ति व्यवस्थापनलाई प्रभावकारी बनाउनु, संगठनात्मक आवश्यकता अनुसार जिम्मेवारी पुनःवितरण गर्नु तथा कार्यसम्पादनलाई थप सुदृढ बनाउनु रहेको बताइएको छ।