काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। विभागले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष उपहार छनोट प्रक्रिया र प्रयोग हुने प्रणालीको नमुना प्रदर्शनसमेत गरेको थियो।

विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार कार्यक्रमको पहिलो उपहार घोषणा शुक्रबार हुनेछ। यस चरणमा साउन १ देखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरेका उपभोक्तालाई समेटिनेछ।

कार्यक्रमअन्तर्गत बैंक वा डिजिटल वालेटको क्यूआरमार्फत भुक्तानी गर्ने उपभोक्ता स्वतः सहभागी हुनेछन्। नगदमा खरिद गर्नेहरूले भने प्यान वा भ्याट बिल लिएर आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गरेपछि मात्र उपहार योजनामा सहभागी हुन सक्नेछन्।

पहिलो चरणमा साउन १ देखि १५ गतेसम्मको प्रत्येक दिनका आधारमा १५ जना विजेताले करकट्टीपछि जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। साथै, सोही अवधिभर खरिद गरेका सबै योग्य उपभोक्तामध्ये एक जनालाई बम्पर पुरस्कारस्वरूप १० लाख रुपैयाँ प्रदान गरिनेछ। बम्पर पुरस्कारमा भने प्रचलित कानुनअनुसार कर लाग्ने व्यवस्था छ।

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत करदातालाई प्रोत्साहन गर्न यो योजना घोषणा गरेको हो। कार्यविधिअनुसार अब प्रत्येक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको कारोबार) र महिनाको अन्तिम दिन (१६ गतेदेखि महिनाअन्तसम्मको कारोबार) नियमित रूपमा उपहार घोषणा गरिनेछ।

विभागले उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिन र सुरक्षित राख्न आग्रह गरेको छ, किनकि उपहार प्राप्त गर्न बिल प्रमाणका रूपमा आवश्यक हुनेछ।