संस्कार बाँचेमात्र संस्कृति बाँच्छ : डा केएन स्वामी
२०८३ श्रावण २५, सोमबार १४:४४
विराटनगर। विराटपाटी ,समय बदलिँदै जान्छ, पुस्ता फेरिँदै जान्छन्। तर केही मूल्य र मान्यताहरू यस्ता हुन्छन्, जसले पुस्तौँपुस्ता जोड्ने अदृश्य सेतुको काम गर्छन्। गुरु, संस्कार, संस्कृति र वैदिक ज्ञान त्यस्तै सेतु हुन्।
विराटनगरको सनातन सामुदायिक भवनमा आइतबार यस्तै एउटा सांस्कृतिक अनुभूतिको दृश्य देखियो। सनातन धर्म सेवा समिति, विराटनगरको आयोजनामा सम्पन्न गुरुपूजन, सनातन व्याख्यानमाला, विशेष सम्मान तथा पुरस्कार अर्पण र वार्षिक साधारणसभा केवल औपचारिक कार्यक्रम रहेन, यो आफ्नो जरा सम्झिने एउटा सामूहिक प्रयत्न बन्यो।
समिति अध्यक्ष कविराज न्यौपाने , पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली तथा लक्ष्मीनारायण मन्दिर पाञ्चालीका प्रमुख स्वामी अच्युतप्रपन्नाचार्य समेतले स्वामी डा. केशवानन्द (केएन स्वामी) विशेष सम्मान गर्नुभयाे। सम्मानका क्रममा माला, दोसल्ला र प्रमाणपत्र अर्पण गरिँदा सभाहलमा सम्मानको औपचारिकताभन्दा माथि उठेर संस्कृतिप्रतिको श्रद्धा अभिव्यक्त भएको अनुभूति हुन्थ्यो।
कार्यक्रमका प्रमुख वक्ता वाग् गुरुकुलम्, गौरीघाट काठमाडौंका संस्थापक स्वामी डा. केशवानन्द (केएन स्वामी) ले वैदिक शिक्षाको वर्तमान आवश्यकता र भविष्यबारे गम्भीर चिन्ता व्यक्त गरे।
उहाँकाे भनाइको सार स्पष्ट थियो, धर्म केवल पूजा गर्ने विषय होइन, जीवन पद्धति हो। संस्कृति केवल विगतको सम्झना होइन, पुस्तालाई भविष्यसँग जोड्ने आधार हो। त्यसैले बालबालिकालाई वैदिक शिक्षाबाट टाढा राखेर सनातन संस्कृतिको संरक्षण सम्भव नहुने उनले बताए।
आजका बालबालिका भोलिका समाजका संवाहक हुन्। उनीहरूलाई आफ्नो परम्परा, संस्कार र शास्त्रीय ज्ञानसँग परिचित गराउन सकिएन भने भौतिक विकासको चमकभित्र आफ्नै पहिचान हराउने खतरा रहन्छ। स्वामी डा. केशवनन्दले यही चिन्तालाई उजागर गर्दै आधुनिक शिक्षासँगै वैदिक शिक्षालाई पनि बालबालिकामाझ पुर्याउनुपर्नेमा जोड दिए।
उनको अर्को प्रश्न अझ अर्थपूर्ण थियो, मन्दिरको आम्दानी कहाँ खर्च भइरहेको छ?
मन्दिरका भव्य संरचना आवश्यक छन्, तर संस्कृतिको भविष्य केवल ढुंगा र इँटाले निर्माण हुँदैन। भवन बन्छ, जीर्णोद्धार हुन्छ, फेरि नयाँ भवन बन्छ। तर ज्ञान र संस्कार हराए भने त्यस भवनभित्रको आत्मा हराउन सक्छ। त्यसैले धार्मिक संस्थाको आम्दानीको एउटा महत्वपूर्ण हिस्सा शिक्षा, संस्कृतिको संरक्षण र नयाँ पुस्ताको निर्माणमा लगानी गर्नुपर्ने उनको धारणा थियो।
यही सन्देशले कार्यक्रमलाई अझ गहिरो बनाएको थियो।
सनातन धर्मका सदस्य तथा कार्यक्रम संयाेजक गाेकुल अधिकारीद्वारा संयोजन गरिएको कार्यक्रममा वैदिक सनातन धर्म तथा संस्कृति क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्ति र संस्थालाई सम्मान तथा पुरस्कार प्रदान गरियो।
आशकरण यशोदादेवी राठी वैदिक धर्म–संस्कृति शिक्षा सम्मान स्वामी डा. केशवानन्दलाई प्रदान गरियो। त्यसैगरी शिवदत्त–रमादेवी भट्टराई वैदिक धर्म–संस्कृति पुरस्कार विश्रान्ती गुरुकुलम्, मूलघाट धनकुटालाई प्रदान गरियो।
कृष्णलाल रूक्मिणी राजगडिया धर्म–संस्कृति पुरस्कार जागृती बुद्धाश्रम, बुढीगंगा–१ लाई तथा ओमप्रकाश–उषादेवी गाेयल धर्म–संस्कृति पुरस्कार देवी पाञ्चायन मन्दिर, विराटनगर–१० लाई अर्पण गरियो।
त्यस्तै गंगाविशन राठी स्मृति शिक्षा सनातन धर्म पुरस्कार राजाबाबा जामुनेश्वर शिवालय, विराटनगर–४ तथा वलभद्र रिजाल नारायण विष्णु हिन्दु धर्म सेवा सम्मान पुरस्कार नयाँ वृन्दावनधाम संस्कृत गुरुकुलम्, इटहरीलाई प्रदान गरियो।
सम्मानित व्यक्तित्व तथा संस्थाका प्रतिनिधिलाई प्रमाणपत्र, माला र दोसल्लाले सम्मान गरिएको थियो। पुरस्कारदाताहरू तथा उनीहरूका प्रतिनिधिले नगद पुरस्कारसमेत प्रदान गरे।
तर समारोह सकिएपछि पनि एउटा प्रश्न भने मनमा बाँकी रहन्छ
हामीले आफ्ना सन्ततिलाई के दिइरहेका छौँ?
सम्पत्ति, प्रविधि र आधुनिक शिक्षा अवश्य आवश्यक छन्। तर आफ्ना जरा, संस्कार र पहिचानबारे ज्ञान दिन सकेनौँ भने पुस्तान्तरण अधुरो रहन सक्छ।
सायद यही कारण गुरु पूजनको त्यो दिन केवल गुरुको सम्मान गर्ने दिन थिएन। त्यो आफ्नै संस्कृतिलाई सम्झिने दिन थियो। आफ्नै इतिहासतर्फ फर्केर हेर्ने दिन थियो। र सबैभन्दा महत्वपूर्ण, आउँदो पुस्तालाई हामी कस्तो सांस्कृतिक विरासत छाड्दैछौँ भन्ने प्रश्न आफैँलाई सोध्ने दिन थियो।
गुरुको चरणमा झुकेको शिरले अन्ततः एउटै कुरा सम्झाउँछ
संस्कृति किताबमा मात्र बाँच्दैन, संस्कारमा बाँच्नुपर्छ।
परम्परा भाषणमा मात्र होइन, पुस्तान्तरणमा बाँच्नुपर्छ।




