जनकपुरधाम, २८ श्रावण।
मधेस प्रदेशका रक्तसञ्चार केन्द्रहरूमा रगतको मौज्दात घट्दै गएपछि बिरामी र आफन्तलाई आवश्यक रगत जुटाउन कठिन हुन थालेको छ। जनकपुरधामस्थित रक्तसञ्चार केन्द्रमा एक सातादेखि अभाव देखिएको छ।

नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष पङ्कज महतोका अनुसार केन्द्रमा अहिले एक–दुई पोका मात्र रगत मौज्दात छ, जबकि दैनिक ४० देखि ५० जनासम्म रगतका लागि आउने गरेका छन्। प्रदेश रक्तसञ्चार केन्द्रमा भने करिब ३० पोका रगत मौज्दात रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नागेन्द्र यादवले बताएका छन्।

रक्तदाताको कमीलाई मुख्य चुनौती मानिएको छ। रक्तदान गर्दा शरीर कमजोर हुन्छ भन्ने भ्रमका कारण पनि नियमित रक्तदानमा कमी आएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

यसैबीच अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टी जनकपुरधाम–१७ ले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन्। सङ्कलित रगत मधेस प्रदेश रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण गरिने आयोजकले जनाएको छ।

स्वास्थ्यकर्मी तथा रक्तसञ्चार केन्द्रहरूले स्वस्थ व्यक्तिलाई नियमित रक्तदान गर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार रक्तदानले दीर्घकालीन कमजोरी निम्त्याउँदैन, बरु संकटको समयमा एक जनाको रक्तदानले अर्को व्यक्तिको जीवन बचाउन सक्छ।

अहिले मधेसलाई भाषणभन्दा रक्तदाता चाहिएको छ।