पाणिनि संस्कृत विद्यालयको २५औँ वार्षिक साधारण सभा सम्पन्न
२०८३ श्रावण ३१, आईतवार १९:५४
विराटनगर, साउन ३० । संस्कृत भाषा, संस्कार र वैदिक परम्पराको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर क्रियाशील पाणिनि संस्कृत विद्यालय, विराटनगर–५ को २५औँ वार्षिक साधारण सभा विद्यालयकै सभाहलमा सम्पन्न भएको छ।
वि.सं. २०५५ सालमा संस्थापक अध्यक्ष पं. खगेश्वर न्यौपानेको पहलमा स्थापना भएको विद्यालयले दुई दशकभन्दा लामो समयदेखि गुरुकुलीय संस्कृत शिक्षामार्फत नयाँ पुस्तालाई संस्कार, संस्कृति र संस्कृत भाषासँग जोड्दै आएको छ।
लक्ष्मीनारायण मन्दिर पाञ्चालीका प्रमुख स्वामी अच्युतप्रपन्नाचार्यको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कविराज न्यौपानेको अध्यक्षतामा सम्पन्न सभामा विद्यालयको शैक्षिक, आर्थिक तथा आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको थियो।
विद्यालयको अक्षयकोष अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने दाताहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो।
यस वर्ष खोटाङका लोकनाथ ओझाका नाति तथा नारायण ओझाका सुपुत्र विशाल ओझाले यस विद्यालयको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका निमित्त हालसम्मकै उच्च रकम रु. ४,६२,००० (चार लाख वैसाठ्ठी हजार रुपैयाँ) सहयोगस्वरूप प्रदान गर्नुभएको छ।
उहाँको यस महत्वपूर्ण योगदानको उच्च सम्मान गर्दै विद्यालय परिवारले विशेष सम्मानसमेत गरेको थियो। विद्यालयको शैक्षिक विकास र संरक्षणमा उहाँले पुर्याउनुभएको सहयोगप्रति विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ।
त्यसैगरी विद्यालयको अध्ययन पूरा गरेका विद्यार्थीलाई पं. लक्ष्मीप्रसाद–चम्पादेवी पोखरेल छात्र पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा उद्योगपति, शिक्षासेवी तथा समाजसेवीहरूले संस्कृत भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा विद्यालयले पुर्याएको योगदानको प्रशंसा गरेका थिए।
सभामा विद्यालयका कोषाध्यक्ष माधव कोइरालाले वार्षिक आय–व्यय विवरण तथा सचिव तीर्थ घिमिरेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रतिवेदन सभाले पारित गरेको छ।
हाल पाणिनि संस्कृत विद्यालयमा ३० जना विद्यार्थीले निःशुल्क आवासीय तथा भोजन सुविधासहित गुरुकुलीय संस्कृत शिक्षा ग्रहण गरिरहेका छन्।
संस्कृत भाषा, संस्कार र संस्कृतिको संरक्षणलाई आफ्नो मूल उद्देश्य बनाउँदै आएको पाणिनि संस्कृत विद्यालयले आगामी दिनमा पनि गुरुकुलीय शिक्षाको यस अभियानलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।




