कोशीमा फेरि कार्की नेतृत्वकै सरकार, बदलियो सत्ता समीकरण
२०८३ भाद्र १, सोमबार २१:१९
विराटनगर, १ भदौ २०८३। केन्द्रमा बनेको नयाँ राजनीतिक समीकरणको प्रभाव कोशी प्रदेशमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीचको सहमतिपछि कोशीमा हिक्मतकुमार कार्कीकै नेतृत्वमा नयाँ गठबन्धन सरकार बनेको छ।
केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच तीनबुँदे सहमति भएको २३ दिनपछि प्रदेश सरकार पुनर्गठन भएको हो। सहमतिपछि कार्कीलाई मुख्यमन्त्रीबाट हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने प्रयास भए पनि त्यो सफल हुन सकेन। अन्ततः कार्कीकै नेतृत्वलाई निरन्तरता दिँदै नेकपा सरकारमा सहभागी भएको हो।
नयाँ समीकरणअनुसार नेकपाबाट चार मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन्। खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरण, गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन, गीता तिम्सिनालाई सामाजिक विकास र जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। सपना परियार भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन्।
जीवन आचार्यलाई फेरि महत्वपूर्ण जिम्मेवारी
मोरङ–६ (क) बाट निर्वाचित जीवन आचार्यले कोशी प्रदेशसभाको दोस्रो कार्यकालमा तेस्रोपटक मन्त्री बन्ने अवसर पाएका छन्। यसपटक उनले प्रदेशकै प्रभावशाली मानिने भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्ने जिम्मेवारी पाएका छन्।
आचार्यको निर्वाचन क्षेत्रमा विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र सुन्दरहरैचा नगरपालिका पर्छन्। त्यसैले पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीले उनको राजनीतिक भूमिकालाई अझ प्रभावशाली बनाउने देखिन्छ।
नेकपाबाट तीन महिला मन्त्री/राज्यमन्त्री
नयाँ सरकारमा नेकपाले पठाएका पाँचमध्ये तीन जना महिला छन्। खिनु लङ्वा लिम्बू, गीता तिम्सिना र सपना परियारले प्रदेश सरकारमा जिम्मेवारी पाएका छन्।
खिनु लङ्वा लगातार दुईपटक प्रदेशसभा सदस्य निर्वाचित भएकी हुन्। उनी दोस्रोपटक मन्त्री बन्दै प्रदेश सरकारमा नेकपाको नेतृत्वसमेत गर्दैछिन्।
सोलुखुम्बुबाट निर्वाचित गोम्बु शेर्पा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन्। प्रदेशसभामा सरकारको आलोचना र प्रश्न उठाउने क्रममा गीत तथा कवितामार्फत फरक शैलीमा प्रस्तुत हुँदै आएका शेर्पा अब त्यही सरकारमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने स्थानमा पुगेका छन्।
केन्द्रमा बदलिएको सत्ता समीकरणको प्रत्यक्ष प्रभाव प्रदेशमा देखिएको छ। तर नेतृत्व भने फेरिएन। समीकरण बदलियो, मन्त्री फेरिए, मन्त्रालयको जिम्मेवारी फेरियो, तर मुख्यमन्त्री हिक्मतकुमार कार्की नै कायम रहे।
अब नयाँ गठबन्धनको मुख्य परीक्षा सरकार सञ्चालन, मन्त्रालयको प्रभावकारी व्यवस्थापन र प्रदेशका विकास योजनामा देखिने परिणाम हुनेछ। विशेषगरी विराटनगरसहित मोरङ, सुनसरी र समग्र कोशी प्रदेशका पूर्वाधार, स्वास्थ्य, कृषि तथा रोजगारीका क्षेत्रमा नयाँ सरकारले कस्तो गति दिन्छ भन्ने विषय चासोको केन्द्रमा रहनेछ।
राजनीतिक समीकरण फेरिए पनि जनताको अपेक्षा भने एउटै छ: सरकार फेरिने होइन, परिणाम देखिनुपर्छ।




