काठमाडौं । राजनीतिक दल गठनदेखि पार्टी परित्याग र नयाँ दल निर्माणसम्मको उतारचढावपूर्ण यात्रा तय गरेका सुनसरी–४ का सांसद दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन्।

खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापनमा सरकारमाथि दबाब बढिरहेका बेला उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि उनको स्थानमा साहलाई जिम्मेवारी दिइएको हो। नवनियुक्त मन्त्री साहले बिहीबार नै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्।

इन्जिनियरिङ पृष्ठभूमिका साहको राजनीतिक यात्रा भने एउटै दलमा सीमित रहेन। डा. सीके राउत नेतृत्वको जनमत पार्टी निर्माणका क्रममा उनी महत्वपूर्ण भूमिकामा थिए। पार्टी गठनपछि उनी उपाध्यक्ष तथा अनुशासन समितिको प्रमुख बनेका थिए।

जनमतको प्रारम्भिक संगठन निर्माणमा साहको व्यक्तिगत संरचना र स्रोतसमेत प्रयोग भएको थियो। भक्तपुरस्थित उनको घरको भुइँतलाबाट पार्टीको प्रारम्भिक कार्यालय सञ्चालन भएको थियो। राउतसँग उनको लामो समयदेखिको राजनीतिक तथा व्यक्तिगत सम्बन्ध पनि थियो।

तर, समयसँगै राउत र साहबीचको सम्बन्धमा दरार आयो। पार्टीभित्रको आर्थिक विषयदेखि संगठनात्मक निर्णयसम्मका विवादले सम्बन्ध बिग्रिँदै गएको नेताहरूको भनाइ छ। गोमा लाभलाई सांसद पदबाट हटाउने विषयमा साहले फरक धारणा राखेपछि विवाद थप चर्किएको थियो।

अन्ततः जनमतले साहमाथि पार्टीको जिम्मेवारीअनुसार काम नगरेको, नेतृत्वविरुद्ध गतिविधि गरेको र पार्टी विभाजनको प्रयास गरेको आरोप लगाउँदै कारबाही गर्‍यो। साहलाई पार्टीबाट निष्कासन गरिएपछि पनि उनको राजनीतिक सक्रियता रोकिएन।

उनले आफ्नै नेतृत्वमा जनस्वराज पार्टी गठन गरे। निर्वाचन आयोगमा दल दर्ता भए पनि त्यसको वैधानिकतामाथि विवाद उत्पन्न भयो र अदालतसम्म पुगेको विषयले उनको राजनीतिक यात्रालाई थप जटिल बनायो।

त्यसपछि साहले सर्वोदय दल गठन गरे। उक्त दलले ‘मकैको घोगा’ चुनाव चिह्न पाएको थियो। तर निर्वाचनको समय नजिकिँदै गर्दा सर्वोदयलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय गराएर साह स्वयं रास्वपामा प्रवेश गरे।

रास्वपाबाट सुनसरी–४ मा उम्मेदवार बनेका साहले कांग्रेसका प्रभावशाली नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गर्दै प्रतिनिधिसभामा प्रवेश गरे। उनले ४२ हजार ७७१ मत पाउँदा कार्कीले १६ हजार ५८७ मत प्राप्त गरेका थिए।

सांसद बनेपछि पनि साह विवादबाट पूर्ण रूपमा टाढा रहन सकेनन्। सुनसरीको कप्तानगञ्जमा भएको दुई समुदायबीचको घटनासम्बन्धी प्रतिवेदन तयार गर्ने क्रममा पार्टीभित्रै उनीमाथि प्रश्न उठेको थियो। उनले गृहमन्त्री सुधन गुरुङको मौखिक निर्देशनमा प्रतिवेदन तयार गरेको दाबी गरे पनि पार्टीको औपचारिक निर्णयबिना प्रतिवेदन बनाइएको भन्दै आलोचना भएको थियो।

यिनै राजनीतिक उतारचढावबीच साह अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा पुगेका छन्।

उनका लागि मन्त्रालयको जिम्मेवारी केवल राजनीतिक पदोन्नति होइन, आफ्नो राजनीतिक यात्राभरि देखिएको दल परिवर्तन र संगठनात्मक विवादभन्दा माथि उठेर काम गरेर देखाउने चुनौती पनि हो।

विशेषगरी ग्यास आपूर्ति, उद्योग सञ्चालन, लगानी वातावरण, व्यापार सहजीकरण र बजार व्यवस्थापनजस्ता विषय तत्काल सम्बोधन गर्नुपर्ने अवस्थामा मन्त्रालयको नेतृत्व सम्हालेका साहको कार्यसम्पादन अब उनको राजनीतिक यात्राभन्दा बढी चर्चाको विषय बन्ने देखिन्छ।