रसुवा बाढीको २० दिनपछि पनि खोजी जारी, २१ हजार सुरक्षाकर्मी मैदानमा
२०८३ भाद्र २९, सोमबार २०:५७
१ हजार ३८६ शव फेला, ३ हजारभन्दा बढी डीएनए नमुना संकलन
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको २० दिन बितिसक्दा पनि खोज तथा उद्धार अभियान रोकिएको छैन । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका २१ हजारभन्दा बढी सुरक्षाकर्मी अझै प्रभावित क्षेत्रमा परिचालित छन् ।
नेपाली सेनाका ८ हजार ९०० भन्दा बढी, नेपाल प्रहरीका ७ हजार ९७५ र सशस्त्र प्रहरीका ४ हजार २०३ जनशक्ति खोज, उद्धार, राहत तथा शव व्यवस्थापनमा खटिएका छन् ।
सुरुङ क्षेत्रमा नेपाली सेनाले विशेष टोलीसहित खोजी गरिरहेको छ । चिलिमे जलविद्युत आयोजनाको सुरुङमा थुप्रिएको डेब्रिज हटाउने काम जारी छ भने ड्रोन, कुकुर र उद्धार उपकरणको प्रयोग बढाइएको छ ।
नेपाल प्रहरीले खोजी अभियानलाई तीव्र बनाउन ‘टिमुरे टु त्रिवेणी’ (टीटुटी) अपरेसन सञ्चालन गरेको छ । अभियानमा खोज तथा उद्धारसँगै राहत, पुनर्स्थापना, डीएनए पहिचान, अपराध अनुसन्धान र ट्राफिक व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।
प्रहरीका अनुसार बाढी प्रभावित आठ जिल्लामा १ हजार ३८६ शव फेला परेका छन् । तीमध्ये १ हजार २३९ शव आवश्यक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ ।
शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ८४६ गरी ३ हजार १३२ डीएनए नमुना संकलन गरिएको छ । अझै १ हजार ३५४ शवको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
विपद्को तीन सातातिर पुग्दा पनि खोजी जारी रहनुले बाढीको मानवीय क्षति र बेपत्ताको अवस्था अझै गम्भीर रहेको संकेत गरेको छ ।




