बाढीपछि घटेको आन्तरिक उत्पादन पूर्ति गर्न डिसेम्बरसम्म १८ घण्टा विद्युत् आयात

विराटनगर । भारतले नेपाललाई आगामी डिसेम्बर ३१ सम्म दैनिक १८ घण्टासम्म विद्युत् आयात गर्न अनुमति दिएको छ। नेपालका जलविद्युत् आयोजनामा बाढीबाट क्षति पुगेपछि आन्तरिक उत्पादन घटेकाले भारतले थप विद्युत् उपलब्ध गराउने निर्णय गरेको हो।

भारतको विद्युत् मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई सेप्टेम्बर १३ देखि डिसेम्बर ३१, २०२६ सम्म विद्युत् आयातको स्वीकृति दिएको हो।

स्वीकृतिअनुसार नेपालले मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनबाट अधिकतम ६०० मेगावाट तथा टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट थप ५४ मेगावाट विद्युत् आयात गर्न सक्नेछ। यसरी कुल ६५४ मेगावाटसम्म विद्युत् भारतबाट ल्याउन सकिनेछ।

भारतले मध्यरात १२ बजेदेखि साँझ ६ बजेसम्म गरी दैनिक १८ घण्टा विद्युत् उपलब्ध गराउने जनाएको छ।

सन् २०२७ जनवरीदेखि नेपाललाई आवश्यक विद्युत्को परिमाण भने डिसेम्बरमै पुनरावलोकन गरिने भारतीय विद्युत् मन्त्रालयले जनाएको छ।

बाढी तथा पहिरोका कारण जलविद्युत् आयोजनाका पूर्वाधारमा क्षति पुगेपछि नेपालमा विद्युत् उत्पादन प्रभावित भएको अवस्थामा भारतको पछिल्लो स्वीकृतिले तत्कालीन विद्युत् अभाव व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भारतले पछिल्लो निर्णयलाई नेपाल–भारतबीचको ऊर्जा सहकार्यलाई थप मजबुत बनाउने कदमका रूपमा समेत प्रस्तुत गरेको छ।