रवि–प्रधानमन्त्रीबीच जिम्मेवारी बाँडफाँट, सरकार र पार्टीको काम छुट्टाछुट्टै
२०८३ भाद्र ३१, बुधबार १६:३८सर्वदलीय बैठकपछि लामिछानेले भने– ‘पार्टीको जिम्मेवारी पार्टीले, सरकारको जिम्मेवारी प्रधानमन्त्रीले हेर्नुहुन्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री र आफूबीच सरकार तथा पार्टी सञ्चालनको जिम्मेवारी स्पष्ट रूपमा बाँडफाँट गरिएको बताएका छन्।
बुधबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्री सरकार सञ्चालनमा केन्द्रित रहने र पार्टीको जिम्मेवारी आफूहरूले सम्हाल्ने बताएका हुन्।
उनका अनुसार पार्टी नेतृत्व र सरकारको नेतृत्व एउटै व्यक्तिले सम्हालेको अवस्थाभन्दा अहिलेको कार्यशैली फरक छ। त्यसैले एउटै काममा दोहोरो हस्तक्षेप वा जिम्मेवारीको दोहोरोपन आवश्यक नरहेको उनको भनाइ छ।
‘पार्टीको जिम्मेवारी पार्टीले हेर्ने, सरकारको जिम्मेवारी प्रधानमन्त्रीले हेर्ने स्पष्ट खाका छ,’ लामिछानेले भने, ‘त्यसको डुप्लिकेसनको आवश्यकता पर्दैन।’
उनले प्रधानमन्त्री निरन्तर बैठक तथा प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको भेटघाटमा व्यस्त रहेको पनि बताए। प्रभावित क्षेत्रको अवस्थाबारे जनप्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्नु संवेदनशील विषय भएको उनको भनाइ थियो।
‘प्रधानमन्त्री प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भेटिरहनुभएको छ भने यो संवेदनशीलताको ठूलो उदाहरण हो,’ उनले भने।
लामिछानेले आफू र प्रधानमन्त्रीबीचको कार्यसम्बन्धलाई लिएर बारम्बार प्रश्न उठाउनेभन्दा दुवै पक्षले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको बुझ्न आग्रह गरे।
उनको अभिव्यक्तिले पार्टी सञ्चालन र सरकार सञ्चालनबीच संस्थागत सीमारेखा कायम गर्ने प्रयास भइरहेको संकेत गरेको छ। यद्यपि व्यवहारमा यो जिम्मेवारी बाँडफाँट कसरी कार्यान्वयन हुन्छ भन्ने विषय आगामी दिनको कार्यशैलीबाट स्पष्ट हुने देखिन्छ।
सर्वदलीय बैठकपछि आएको लामिछानेको भनाइले सरकार सञ्चालनमा प्रधानमन्त्रीको भूमिकालाई केन्द्रमा राख्दै पार्टीको राजनीतिक जिम्मेवारी पार्टी नेतृत्वबाटै अघि बढाउने संरचनाको संकेत गरेको छ।
लामिछानेले भने, ‘हामी त काम बाँडफाँट गरेर गर्छौं नि।’




