काठमाडौं विराटपाटी कार्तिक २६ विहिवार, अमेरिकी प्रविधि उद्योगका दुई प्रभावशाली व्यक्तित्वबीच नयाँ व्यावसायिक चर्चा सुरु भएको छ। विश्वका चर्चित अर्बपति तथा उद्यमी इलन मस्कले चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङलाई आफ्नो कम्पनीमा काम गर्न सार्वजनिक प्रस्ताव गरेका छन्।

सामाजिक सञ्जाल एक्समार्फत मस्कले हुआङलाई आफ्नो कम्पनीमा नियुक्त गर्न पाउनु सम्मानको विषय हुने बताएका हुन्। वित्तीय समाचार पोर्टल जिरोहेजले हुआङको भविष्यबारे गरेको पोस्टमा प्रतिक्रिया दिँदै मस्कले यस्तो प्रस्ताव सार्वजनिक गरेका हुन्।

एनभिडियाभित्र हुआङको नेतृत्व र भविष्यलाई लिएर विभिन्न चर्चा भइरहेका बेला मस्कको यो अभिव्यक्ति आएको हो। यसअघि एआई क्षेत्रमा लगानी गर्दै आएका गेविन बेकरले पनि एनभिडियाको सञ्चालक समितिलाई कुनै निर्णय गर्नुअघि स्वतन्त्र छानबिनको नतिजा पर्खन सुझाव दिएका थिए। उक्त सुझावमा मस्कले समेत समर्थन जनाएका थिए।

हुआङ नेतृत्वको एनभिडियाले सन् २०२५ को अन्त्यतिर मस्कको कृत्रिम बौद्धिकता (एआई) कम्पनी एक्सएआईमा दुई अर्ब अमेरिकी डलरसम्म लगानी गर्ने सहमति गरेको थियो।

त्यस्तै, सन् २०२५ अक्टोबरमा सीएनबीसीसँगको कुराकानीमा हुआङले मस्कका परियोजनामा अझ बढी लगानी नगरेकोमा पछुतो लागेको बताएका थिए। मस्कसँग जोडिएका अधिकांश परियोजनामा सहभागी हुन आफूहरू इच्छुक रहेको उनको भनाइ थियो।

एआई प्रविधिको विश्वव्यापी प्रतिस्पर्धा तीव्र भइरहेका बेला मस्कको यो प्रस्तावलाई प्रविधि क्षेत्रको रणनीतिक सम्बन्ध र सम्भावित सहकार्यका रूपमा समेत हेरिएको छ।