साउनदेखि असोजसम्म ७८ अर्ब ३३ करोडको वस्तु आयात, कुल आयातमा १२.११ प्रतिशत हिस्सा

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा वीरगञ्ज भन्सार नाका सबैभन्दा ठूलो व्यापारिक केन्द्रका रूपमा देखिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको तथ्यांकअनुसार देशका २८ भन्सार विन्दुमध्ये वीरगञ्जले कुल आयातको झण्डै आधा हिस्सा ओगटेको छ ।

भन्सार विभागका अनुसार साउनदेखि असोजसम्म नेपालले ६ खर्ब ४६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । त्यसमध्ये वीरगञ्ज नाकाबाट मात्रै ३ खर्ब १२ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु भित्रिएको छ । यो कुल आयातको ४८.३० प्रतिशत हो ।

आयातको परिमाणमा भैरहवा दोस्रो स्थानमा रहेको छ । उक्त नाकाबाट ९८ अर्ब ८१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

पूर्वी नेपालको प्रमुख व्यापारिक प्रवेशद्वार विराटनगर भन्सार नाका भने तेस्रो स्थानमा देखिएको छ । तीन महिनाको अवधिमा यस नाकाबाट ७८ अर्ब ३३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो कुल आयातको १२.११ प्रतिशत हो ।

त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१ अर्ब ६२ करोड, नेपालगञ्जबाट २३ अर्ब ९१ करोड, मुस्ताङबाट २२ अर्ब ३ करोड र मेची भन्सारबाट २१ अर्ब ४० करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन् ।

निर्याततर्फ पनि वीरगञ्जको योगदान उल्लेखनीय छ । समीक्षा अवधिमा नेपालबाट भएको कुल १ खर्ब १४ अर्ब रुपैयाँको निर्यातमध्ये वीरगञ्ज नाकाबाट मात्रै ४७ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

यसबीच, बाढीपहिरोका कारण चीनसँग जोडिएका उत्तरी व्यापारिक नाकाहरू प्रभावित भएपछि भारततर्फका नाकामा व्यापारको चाप थपिएको छ । मुस्ताङ नाका र रसुवागढी क्षेत्रमा आएको प्राकृतिक विपत्तिले व्यापारिक आवागमनमा समेत असर पारेको छ ।

नेपालको वैदेशिक व्यापार केही प्रमुख नाकामा अत्यधिक निर्भर रहेको तथ्यांकले देखाएको छ । विशेषगरी विराटनगर भन्सारको तेस्रो स्थानले पूर्वी नेपालको व्यापारिक सम्भावना र यसको रणनीतिक महत्त्वलाई पुनः उजागर गरेको छ ।