काठमाडौं। भारतका विदेश सचिव विक्रम मिस्रीले आगामी कात्तिक १८ र १९ गते नेपालको औपचारिक भ्रमण गर्ने भएका छन्। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा हुन लागेको भ्रमणलाई नेपाल–भारत कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ।

भ्रमणका क्रममा मिस्रीले परराष्ट्र सचिव राईसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। वार्तामा दुई देशबीचको समग्र सम्बन्ध, आपसी सहयोग, साझा चासो र पारस्परिक हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल र भारतबीच रहँदै आएको ऐतिहासिक, सांस्कृतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्‍याउने उद्देश्य भ्रमणको रहेको बताइएको छ।

यसैक्रममा भारतीय विदेश सचिव मिस्रीले नेपालका उच्चस्तरीय व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाटसमेत गर्नेछन्। दुईदिने भ्रमण सम्पन्न गरी उनी कात्तिक १९ गते काठमाडौं हुँदै नयाँदिल्ली फर्कने कार्यक्रम छ।