पोखरा, चितवन र बर्दियाका पर्यटकीय गन्तव्य विश्व बजारमा चिनाउने लक्ष्य

काठमाडौं । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय डिजिटल बजारमा पुर्‍याउने उद्देश्यसहित सात देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आइपुगेका छन्।

नेपाल पर्यटन बोर्ड र सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, यूएई, बंगलादेश र श्रीलंकाका कन्टेन्ट क्रिएटर नेपाल आएका हुन्।

नेपाल बसाइका क्रममा उनीहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय क्षेत्रको भ्रमण गरी प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, स्थानीय जीवनशैली, वन्यजन्तु तथा साहसिक पर्यटनका अनुभव समेटिएका भिडियो सामग्री निर्माण गर्नेछन्।

निर्मित सामग्री टिकटकसहित विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ। यसले नेपालका पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउनुका साथै विदेशी पर्यटक आकर्षित गर्न सहयोग पुग्ने पर्यटन बोर्डको अपेक्षा छ।

भ्रमण टोलीमा सहभागी केही क्रिएटरले पोखराको प्राकृतिक सौन्दर्य र पर्यटकीय गतिविधिलाई प्राथमिकता दिनेछन् भने चितवन पुग्ने क्रिएटरले वन्यजन्तु, राष्ट्रिय निकुञ्ज र थारू संस्कृतिलाई समेट्नेछन्। बर्दियामा भने प्राकृतिक वातावरण, वन्यजन्तु र समुदायमा आधारित पर्यटनका सम्भावनालाई विश्वसामु प्रस्तुत गरिनेछ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार अन्तर्राष्ट्रिय क्रिएटरलाई नेपालको वास्तविक यात्रा अनुभव गराएर उनीहरूमार्फत विश्व बजारमा पर्यटन प्रवर्द्धन गर्ने अभियान अघि बढाइएको हो।

यसअघि सन् २०२५ अगस्टमा पर्यटन बोर्ड र टिकटकबीच नेपालको पर्यटन विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने समझदारी भएको थियो। सोही सहकार्यअन्तर्गत सुरु गरिएको #LifetimeExperiences अभियानलाई २०२६ मा पनि निरन्तरता दिइएको हो।

डिजिटल माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने यो पहलले पोखरा, चितवन र बर्दियाको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्नुका साथै स्थानीय पर्यटन व्यवसाय, होटल, होमस्टे तथा समुदायमा आधारित पर्यटनलाई समेत लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।

#Biratpati #NepalTourism #TikTok #DigitalTourism #VisitNepal