काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको खेलमा सुदूरपश्चिम रोएल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ। १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

सुदूरपश्चिमको जितमा ब्रान्डन म्याकमुलेनले आक्रामक ब्याटिङ गर्दै २१ बलमा ४३ रन बनाए। उनले ६ चौका र २ छक्का प्रहार गरे। इशान पाण्डेले २५ तथा अविजित आरिफ शेखले २० रनको योगदान दिए। शेरफान रथरफोर्ड २१ रनमा अविजित रहे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो। चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाए। उनले ४० बलमा ३ चौका र २ छक्का प्रहार गरे। डाविड मालानले १६ तथा विवेक यादवले १७ रन जोडे।

बलिङतर्फ चितवनका रञ्जित कुमारले ३ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

यस जितसँगै सुदूरपश्चिमले चार खेलबाट चार अंक जोडेको छ। चितवन भने तीन खेलबाट तीन अंकसहित पहिलो हार व्यहोर्न पुगेको छ।

चितवनको पराजयसँगै एनपीएलको जारी संस्करणमा लुम्बिनी लायन्स एक्लो अपराजित टोली बनेको छ।