जनकपुर–अयोध्या रेल : भाडा दर ताेकियाे
२०८३ मंसिर ११, बिहीबार १२:२२
रामायणकालीन सम्बन्ध जोड्दै जनकपुरबाट अयोध्यासम्म सिधा रेल सेवा, धार्मिक पर्यटन र दुई देशबीचको सांस्कृतिक सेतु बन्ने अपेक्षा
जनकपुर मंसिर १० विहिवार विराटपाटी ,
जनकपुरधाम र अयोध्या केवल दुई धार्मिक सहर मात्र होइनन्, यी दुई स्थान नेपाल र भारतको साझा आस्था, संस्कृति र रामायणकालीन सभ्यताका प्रतीक पनि हुन्। अब यी दुई पवित्र धामलाई सिधा रेल सेवाले जोड्ने भएपछि धार्मिक यात्राले नयाँ गति पाउने अपेक्षा गरिएको छ।
जनकपुरधामबाट अयोध्याधामसम्म सञ्चालन हुन लागेको ‘सरयू–कमला एक्सप्रेस’ को टिकट बुकिङ खुला भएको छ। सार्वजनिक समयतालिकाअनुसार रेल आगामी मंसिर १३ गतेदेखि नियमित सञ्चालनमा आउनेछ।
रेल नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट प्रस्थान गरी आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ। फर्किने रेल नम्बर १५५९६ प्रत्येक सोमबार साँझ ५:५० बजे अयोध्याबाट छुटेर मंगलबार दिउँसो १२:४० बजे जनकपुरधाम आइपुग्नेछ।
यात्रुलाई चार श्रेणीको सुविधा
रेलमा यात्रुका लागि चार प्रकारका टिकट उपलब्ध हुनेछन्।
स्लिपर क्लास : भारु ३६५
एसी थ्री टियर इकोनोमी : भारु ८८५
एसी थ्री टियर : भारु ९६५
एसी टु टियर : भारु १,३६०
नेपाली रुपैयाँमा करिब ५८४ देखि २,१७६ रुपैयाँसम्म पर्ने भाडादरले विभिन्न आर्थिक अवस्थाका यात्रुलाई धार्मिक यात्रा गर्न सहज बनाउने अपेक्षा गरिएको छ। अनलाइन टिकटमा सेवा शुल्क तथा कर थप लाग्न सक्नेछ।
जनकपुरधाम माता जानकीको जन्मभूमि र अयोध्या भगवान् रामको जन्मभूमिका रूपमा विश्वभर परिचित छन्। यी दुई धामबीचको सिधा रेल सेवाले रामायण सर्किटलाई थप प्रभावकारी बनाउने सम्भावना छ।




