आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

विश्वभरका देशहरूले हरेक वर्ष जुन १४ लाई विश्व रक्तदाता दिवसका रूपमा मनाउने गर्छन् । यस अवसरमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकता बारे जनचेतना जगाउन र स्वैच्छिक, निशुल्क रक्तदातालाई रक्तदानको लागि धन्यवाद दिन विभिन्न कार्यक्रम आयोजना गरिएको छ।

‘रगत दिनुहोस्, प्लाज्मा दिनुहोस्, जीवन बाँड्नुहोस्, बारम्बार बाँड्नुहोस्’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ ।

यस नाराले खाँचोमा परेका मानिसहरूलाई रक्त र प्लाज्मा दान गरेर मानव जीवन बचाउन प्रत्येक व्यक्तिले खेल्न सक्ने भूमिकालाई जोड दिन्छ। यसले नियमित रक्तदान मार्फत रगत र प्लाज्माको दिगो र सुरक्षित आपूर्तिको महत्त्वलाई पनि हाइलाइट गर्दछ।

सोही अवसरमा आज देशभर विभिन्न संघसंस्था तथा अस्पतालले जनचेतना, रक्तदाता उत्प्रेरणा तथा रक्तदान कार्यक्रम आयोजना गर्दैछन् ।
यस अवसरमा रक्तदाता संघ नेपालले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।

संघले साइकल र्‍याली, रक्तदाता अभिनन्दन, अभिमुखीकरण तथा कला प्रदर्शनीलगायत साताव्यापी चेतनामूलक कार्यक्रम आयोजना गरेको महासचिव केशव महर्जनले जानकारी दिए ।

“अस्पतालमा रगतको सुव्यवस्थित व्यवस्थापन र रक्तदातालाई प्रोत्साहन गर्ने कार्यक्रमको अभाव” अहिलेको मुख्य चुनौती रहेको उनले बताए।

मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा कार्ल ल्यान्डस्टेनरको जन्मदिनको अवसरमा हरेक वर्ष जुन १४ लाई विश्व रक्तदाता दिवसका रूपमा मनाइन्छ।

पहिलो रक्तदाता दिवस २००४ मा मनाइएको थियो।