हरेक वर्ष विराटनगरमा निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राको ५५ औं संस्करण बिहीबार हुदैछ ।

कृष्णजन्माष्टिको भोलिपल्ट निकालिने रथयात्रा १९८८ सालबाट सुरु गरिएको हो।

धेरै वर्ष अगाडि युगल राधाकृष्णलाई खटमा राखेर नगरपरिक्रमा गराइन्थ्यो। २०२४ सालपछि रथयात्रालाई बृहत बनाउँदै रथमा राखेर नगरपरिक्रमा गराउने चलन चलेको छ ।

यसपटकको रथयात्रामा ५८ वटा विभिन्न प्रकारका झाँकी सुरुमा निकालिने रथयात्रा मूल समारोह समितिले जनाएको छ।

राधाकृष्णको मन्दिर रहेको स्थान विराटनगर १ बाट दिउँसो करिब ३ बजे सुरु हुने रथयात्राले ९ किलोमिटरको नगरपरिक्रमाका क्रममा विभिन्न ४३ स्थानमा छोटो विश्राम लिनेछ।

रथयात्रा र राधाकृष्णको युगल जोडी हेर्नका लागि विराटनगर आएका हजारौं भक्तजनलाई दर्शनका लागि विभिन्न स्थानमा रथ रोकिने छ ।

रथयात्रा पूर्व झाकी र अन्य कार्यक्रम दिउँसो १ बजेबाट नै सुरु हुने उनले जानकारी दिए।

रथयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन करिब १ हजार सुरक्षाकर्मी प्रत्यक्ष अप्रत्यक्ष रुपमा खटिनेछन् ।

२२ फिट लम्बाई, १८ फिट चौडाइ र १८ फिट उचाई रहेको रथको सज्जावटका लागि भारतको कलकत्ताबाट कालिगढ झिकाइएको छ ।