पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली, तराईमा हुस्सु र कुहिरोको जोखिम

विराटपाटी अनलाइन | मौसम विश्लेषण

काठमाडौ कार्तिक ३० साेमवार, पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिन थालेसँगै देशका विभिन्न भूभागको मौसममा परिवर्तन आउने संकेत देखिएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार बिहानसम्म कर्णाली प्रदेशसहित देशका अधिकांश हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ भने पहाडी भूभागमा आंशिक बदली देखिएको छ। तराईका केही स्थानमा तुवाँलो लागे पनि अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

मौसम पूर्वानुमानअनुसार सोमबार दिउँसो कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको पहाडी तथा हिमाली भूभाग र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।

त्यस्तै, सोमबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

तराईका क्षेत्र, काठमाडौं उपत्यका तथा पहाडी खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना पनि रहेको छ।

मौसममा देखिएको यो परिवर्तनले हिमाली क्षेत्रमा चिसो बढाउने तथा बिहानको समयमा तराई र उपत्यकाका सडकमा दृश्यता कम गराउन सक्ने देखिन्छ। त्यसैले हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्ने यात्रु, पर्यटक र स्थानीय बासिन्दाले मौसमको अवस्था बुझेर यात्रा गर्नुपर्ने देखिन्छ।

विशेषगरी बिहान हुस्सु लाग्ने क्षेत्रमा सवारीसाधन चलाउँदा सावधानी अपनाउन र हिमाली क्षेत्रमा जाने पर्यटकले न्यानो कपडा तथा आवश्यक सुरक्षा तयारी गर्नुपर्ने हुन्छ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावलाई ध्यानमा राख्दै मौसमको पछिल्लो अवस्थाबारे मौसम पूर्वानुमान महाशाखाले जारी गर्ने नियमित सूचना र चेतावनीमा ध्यान दिनु आवश्यक छ।