सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, राष्ट्रपति पौडेलको उपस्थितिमा शपथ
२०८३ कार्तिक २८, शुक्रबार १७:३३
काठमाडौं कार्तिक २७ शुक्रबार सर्वोच्च अदालतमा नियुक्त भएका चार जना नयाँ न्यायाधीशले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरूलाई शपथ गराएका हुन्।
शपथ लिनेमा डा. रत्नबहादुर बाग्चन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।
न्यायिक क्षेत्रको विभिन्न तहमा अनुभव हासिल गरेका चारै जना न्यायाधीशलाई न्यायपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बिहीबार सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका थिए।
नवनियुक्त न्यायाधीशमध्ये डा. बाग्चन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीशका रूपमा कार्यरत थिए। सारु उच्च अदालत पाटन, पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलास तथा डाँगी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा न्यायाधीशका रूपमा कार्यरत थिए।
नेपालको संविधानको धारा १२९ को उपधारा (२) अनुसार उनीहरूको नियुक्ति भएको हो।
चार नयाँ न्यायाधीशको आगमनसँगै सर्वोच्च अदालतको न्यायिक जिम्मेवारी र कार्यसम्पादनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।
विराटपाटी ताजा खबर, निष्पक्ष खबर




