प्रधानमन्त्री मोदी र कर्नाटकका मुख्यमन्त्री डीके शिवकुमारले गरे मेट्रो यात्रा
२०८३ कार्तिक २८, शुक्रबार १७:१५
नयाँदिल्ली कार्तिक २७ शुक्रबार , भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र कर्नाटकका मुख्यमन्त्री डीके शिवकुमारले बेंगलुरुको नवनिर्मित पिंक लाइन मेट्रोमा यात्रा गरेका छन्।
नवनिर्मित पिंक लाइनअन्तर्गत तवारेकेरे मेट्रो स्टेसनबाट दुवै नेताले टिकट खरिद गरी मेट्रो यात्रा सुरु गरेका हुन्। सार्वजनिक यातायातप्रतिको विश्वास र आधुनिक सहरी यातायातको महत्त्व दर्शाउने उद्देश्यले गरिएको यस यात्रालाई विशेष रूपमा हेरिएको छ।
३ हजार ४७० करोड भारतीय रुपैयाँको लागतमा निर्माण भएको पिंक लाइन
बेंगलुरु मेट्रोको पिंक लाइन परियोजना करिब ३ हजार ४७० करोड भारतीय रुपैयाँको लागतमा निर्माण गरिएको हो। यसको कुल लम्बाइ २१.२५ किलोमिटर रहनेछ भने यसमा १८ वटा स्टेसन रहनेछन्।
प्रधानमन्त्री मोदीले उद्घाटन गरेको ७.५ किलोमिटरको एलिभेटेड खण्डमा ६ वटा स्टेसन रहेका छन्। बाँकी १२ स्टेसनको भूमिगत खण्ड निर्माणाधीन छ।
मेट्रो यात्राका क्रममा मुख्यमन्त्री शिवकुमारले दोहोरो संरचनामा निर्माण गरिएको एलिभेटेड करिडोरबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। यस संरचनामा मेट्रो रेलसँगै सडकमा फ्लाइओभरसमेत निर्माण गरिएको छ, जसले बेंगलुरुको बढ्दो ट्राफिक चाप कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उक्त पिंक लाइनमा सर्वसाधारणका लागि नियमित सेवा नोभेम्बर १४ देखि बिहान ६ बजेदेखि सञ्चालन हुने जनाइएको छ।
भारतका ठूला सहरमा सार्वजनिक यातायात विस्तार, सहरी पूर्वाधार विकास र वातावरणमैत्री यात्रालाई प्रोत्साहन गर्ने सरकारी प्रयासका रूपमा यस परियोजनालाई महत्त्वपूर्ण मानिएको छ।
विराटपाटी अनलाइन | नयाँदिल्ली
#BengaluruMetro #PinkLine #NarendraModi #DKShivakumar




