सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निजामती कर्मचारीलाई परिणाममुखी काम गर्न निर्देशन दिएकी छन् । २०औँ निजामती सेवा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रीले विकास, समृद्धि र सुशासनका लागि सरकारी कर्मचारीले पेशागत र रचनात्मक रूपमा काम गर्नुपर्नेमा जोड दिए ।

निर्वाचन सम्पन्न गर्न, प्राकृतिक प्रकोप र संकटको सफल व्यवस्थापन र राजनीतिक संक्रमणकालको राम्रो व्यवस्थापनमा निजामती प्रशासनको भूमिका प्रशंसनीय रहेको मन्त्रीले बताए ।

संघीय प्रशासन प्रणालीलाई सुदृढ बनाउन संघीय निजामती सेवा ऐनको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले विभिन्न प्राविधिक कारणले ऐन आउन ढिलाइ भएकाले सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयक अगाडि बढाएको बताए ।

यो ऐन संसदबाट पारित भएपछि छिट्टै कार्यान्वयनमा आउनेछ । ऐन कार्यान्वयनमा आएपछि संघीय निजामती सेवामा मात्र नभई प्रदेशदेखि स्थानीय तहसम्मको अन्योलको अन्त्य हुने विश्वास मन्त्रीले व्यक्त गरे ।

उनले ऐन पारित गराउन सबैको सहयोगको अपेक्षा समेत गरे । सामान्य प्रशासन मन्त्रीले संघीय, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीलाई समृद्धि र सुशासनको बाटोमा लाग्दै अनुशासन र प्रतिबद्धताका साथ देश र जनताको सेवा गर्न निर्देशन दिए