नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८२ मंसिरभित्रै पार्टीको १५औँ महाधिवेशन गर्ने बताए।

आज पोखरा महानगरपालिकाको सम्मेलनमा महामन्त्री थापाले ०८२ सालको मंसिरभन्दा उता कुनै हालतमा महाधिवेशन नजाने विचार राखेका छन् ।

“नेपाली कांग्रेसको महाधिवेशन ०८२ सालको मंसिरभन्दा उता एक जाँदैन, दुई जाँदैन, तीन जाँदैन जान दिइँदैन,” उनले भने ।

२०८२ सालमा चार वर्ष पुग्ने भएकाले चार वर्षभित्रै अधिवेशन गराई छाड्ने थापाको जिकिर गरेका छन् । उनले ०८२ सालको वैशाख १ गतेबाट क्रियाशील सदस्यतासम्बन्धी कुनै पनि काम नहुने दाबी गरे ।
“न नयाँ भरिन्छ, न नवीकरण हुन्छ । फाइल बन्द हुन्छ,” उनले जनाए ।

थापाले ०८४ को निर्वाचनमा तीनै तहको उमेदवार बन्ने नेताहरूलाई कार्यपत्र प्रस्तुत गराइने पनि उनले बताए ।

“वडाध्यक्ष हुन चाहनेले आधा घण्टा आएर म यसरी काम गर्छु भनेर एक घण्टा बोलोस् । अनि छान्ने काम चाहिँ वडाले गरोस्,” उनले थपे, “त्यसले दाइको मान्छे, दिदीको मान्छे, भिनाजुको मान्छे, कसैको मान्छे बन्दैन ।”

गुटको कुरा नमिल्दा माथिदेखि तलसम्म पार्टी कमजोर भएको उनले बताए । यसलाई बदल्न नियत र इच्छा आवश्यक पर्ने भन्दै उनले पार्टीको सदस्यताको बारेमा पनि छलफल गरिनेछ भनेका छन्