नेपाल चेम्बर अफ कमर्श (एनसीसी) ले चिनियाँ निजी क्षेत्रलाई नेपालमा लगानी बढाउन आग्रह गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आगामी चीन भ्रमणअघि एनसीसीले आफ्नो कार्यालय जमलमा चिनियाँ निजी क्षेत्रसँगको द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्धका बारेमा छलफल गरेको थियो ।

भेटमा एनसीसीका अध्यक्ष राजेन्द्र मल्लले नेपालको जलविद्युत, कृषि, सूचना प्रविधि, पूर्वाधार विकासलगायत क्षेत्रमा लगानी गर्न चिनियाँ निजी क्षेत्रलाई आग्रह गरे ।

उनले भने, ‘नेपाल र चीनबीचको सम्बन्ध कूटनीतिक र आर्थिक दृष्टिकोणले निकै महत्वपूर्ण छ, पछिल्लो समय चिनियाँ लगानीको प्रवृत्ति पनि उच्च छ, विशेषगरी उत्पादन वृद्धि र सिर्जना गर्ने महत्वपूर्ण आयोजनामा ​​लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गर्न चाहन्छु “

नेपाल चेम्बर अफ कमर्सले लगानीका लागि नीतिगत कठिनाइ अन्त्य गर्न सम्बन्धित सरकारी निकायमा पहल गर्ने उनले बताए ।

एनसीसीका अध्यक्ष मल्लले नेपाल र चीनबीच भएका व्यापार सम्झौतालाई व्यापार सहज बनाउन समय समयमा पुनरावलोकन गरिरहनुपर्ने बताए ।

उनले नेपाल र चीनबीच भएको यातायात सम्झौताको प्रभावकारी कार्यान्वयन र उत्तरी छिमेकीसँगको सीमानामा सडक पूर्वाधार निर्माणमा जोड दिए ।

मल्लले भने, ‘चीनसँगको सिमानामा तातोपानी, केरुङ जस्ता भन्सार नाकाको स्तरोन्नति गरी सडक पूर्वाधार निर्माण गर्नुपर्छ ।

उनले भन्सार नाकामा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन प्रयोगशाला सञ्चालन गरेर नेपालको निकासी बढाउनुपर्नेमा जोड दिए ।

वार्षिक करिब अर्ब रुपैयाँको निर्यात सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको छ । नेपालबाट चीनसम्म दुई सय अर्ब पुगेकाले त्यस्ता लाभ हासिल गर्नुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री प्रचण्डको आगामी चीन भ्रमणमा दुई देशबीचको व्यापार सहजीकरणको विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्ने पनि चेम्बरले सुझाव दिएको छ

छलफलका क्रममा चिनियाँ निजी क्षेत्रका उच्चस्तरीय प्रतिनिधिले नेपालमा लगानीका लागि देखिएका नीतिगत कठिनाइबारे जानकारी लिएका थिए ।

उनीहरुले दुई देशबीचको आर्थिक र कूटनीतिक सम्बन्ध उच्च स्तरमा रहेको बताए ।