तीज आयो ठाँटिएर
२०८० भाद्र २९, शुक्रबार २०:३४
तीज आयो ठाँटिएर सबै माइत जाने हो
परदेशीलाई तीज बरै कहिले आउने हो।
बुवाआमा माइतीलाई मनमनै सम्झिदै
आशीर्वाद थाप्दैछु है दूरदेशमै।१।
भूगोलले टाढा हुँदा भिज्छन् मेरा नयन
शरीर यता मन उता हुन्छु बेचैन।।
साथी सँगी भेला हुन्थ्यौँ माइतीका आँगन
नाच्न गाउँन पाउँदा हुन्थ्यो खुशी यो मन।२।
मीठामीठा परिकार पकाउँने आमाले
बहिनी लिन दाजु आउँने अपार मायाले।
छिमेकका छोरी आउँदा मेरो बाटो हेर्दिहुन्
आफ्नी छोरी सम्झिएर आमा रुँदिहुन्।३।
दाजु सँधै रूदै भन्छन् फर्कि आउ बहिनी
प्यारी हाम्री एउटै चेली टाढा भयौ नी।
दौतरीले भन्ने गर्छन् कति बस्छौ विदेश
रमाईलो गरौँ साथी आउ स्वदेश।४।
जसोतसो मिलाएर अर्को साल आउँनेछु
दशैँ तिहार तीज सबै सँगै मान्नेछु।
माइतीका अनुहारमा खुशी पनि भर्नेछु
आफू पनि त्यसै त्यसै दङ्ग पर्नेछु।५।
(कवियत्री सुषमा उपाध्याय हाल जापान रही परदेशवाट मातृभूमि प्रति सम्झना गरि कविता लेख्नु भएको छ)





