प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा हुन लागेको संयुक्त राष्ट्रसङ्घीय महासभाको ७८औँ बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २१ मा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। ७८औँ संयुक्त राष्ट्र सङ्घको महासभाको विषयवस्तु “विश्वव्यापी एकताको पुनर्निर्माण र सन् २०३० को एजेन्डा र दिगो विकासका लक्ष्यहरूमा द्रुतगतिको कार्य” रहेको छ। सबैका लागि शान्ति, समृद्धि, प्रगति र दिगोपन।

भ्रमणका क्रममा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाको उद्घाटन सत्रमा भाग लिने र सेप्टेम्बर १९ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्रीले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डसँगै छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याललगायत परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी छन् ।