आजै ऋषिपञ्चमी र गणेश चतुर्थी पर्व मनाउँदै
२०८० आश्विन २, मंगलवार ११:३०
नेपाली नारीहरुले आज हरितालिका तीज अन्र्तगत सप्तऋषिको पूजा गरेर ऋषिपञ्चमी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा ऋषिपञ्चमी पर्व मनाइन्छ।
आज बिहान १० बजेर ४९ मिनेटमा चतुर्थी तिथि सकिएर पञ्चमी तिथि सुरु हुने भएकाले ऋषिपञ्चमीका व्रतालुले सप्तऋषिको पूजा गर्नुपर्ने धर्मशास्त्रका जानकार बताउँछन्।
यो पर्वमा महिलाहरुले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्।
स्नानपछि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र ऋषिको पूजा गरिन्छ। ऋषिपञ्चमीको दिन सप्त ऋषिको पूजा आराधना गर्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। यही विश्वासका साथ काठमाडौंको गौरीघाटमा स्नान र पूजा गर्नेहरु भेला भएका छन्।
आजै गणेश चतुर्थी
अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ।




