संविधान दिवस–२०८० को अवसरमा बुधबार मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ ।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख अतिथिको रुपमा उपस्थिति रहेको थियो । त्यसैगरी उपराष्ट्रपति राम सहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कूटनीतिक नियोग प्रमुख तथा प्रतिनिधिहरु, सरकारी कर्मचारी र पत्रकारहरु ।

सो अवसरमा नेपाली सेनाको हेलिकप्टरबाट ‘संविधान दिवस, २०८०’ लेखिएको ब्यानर र पुष्पवृष्टि गरिएको थियो । ब्यानर बोकेको हेलिकप्टरले काठमाडौंको चक्रपथ परिक्रमा गरेको थियो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न टुकडीले सांस्कृतिक झाँकीसहित मार्चपास गरेका थिए । दिवसको अवसरमा शान्तिको प्रतीकका रूपमा रंगीन बेलुन र परेवा विमोचन गरिएको थियो ।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाले सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । सो अवसरमा सूचना तथा प्रसारण विभागको द्विमासिक प्रकाशन ‘नेपाल’को विशेष संविधान दिवस संस्करण पनि विमोचन गरिएको थियो ।

 समारोहलाई कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सम्बोधन गरेका थिए ।