पुष्पा र अञ्जली नामका गैंडा कोशी टप्पु वन्यजन्तु आरक्षमा सार्ने
२०८० आश्विन ७, आईतवार १०:३२
वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार चितवन राष्ट्रिय निकुञ्जका दुई पोथी गैंडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा सारिने भएको छ ।
त्यहाँ एकसिङ्गे गैँडा नभएकाले काेसी टप्पुमा गैँडाको बासस्थान विस्तार गर्ने उद्देश्य रहेको छ । आश्विन १०मा पुष्पा र अञ्जलीलाई काेसी टप्पुमा लैजाने तयारी भइरहेको छ ।
‘चार वर्षकी पुष्पा र साढे तीन वर्षकी अञ्जली चितवनमा हुर्केका हुन् । पुष्पा र अञ्जली क्रमशः दुई महिना र एक महिनाका हुँदा आमाबुवाविना जङ्गलमा अलपत्र अवस्थामा फेला परेका थिए,’ निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले भने ।
“सप्तरी जिल्लामा काेसी टप्पु नजिकै घेरा बनाउने क्षेत्र तयार भइरहेको छ। हामी दुईवटा गैंडालाई सुरुमा सानो क्षेत्रमा बढ्न दिनेछौं। उनीहरुको बासस्थान बिस्तारै विस्तार हुँदै जानेछ र तयार भएपछि टप्पुमा छोडिनेछ,’ आरक्षणका प्रमुख संरक्षण अधिकृत रमेश यादवले भने।
“गैंडा हाम्रो लागि नयाँ सदस्य हो। उनीहरुका लागि उपयुक्त बासस्थान बनाउन हामी सक्दो प्रयास गर्नेछौं,’ यादवले भने ।




