पुर्व कै प्रतिष्ठा वाेकेकाे एउटा ग्यास उद्योगले वजारमा खाली सिलिन्डर पठाएको छ । शील वा टाँचा  लगाएको सिलिन्डर खाली भेटिएपछि कोसी ग्यास उद्योग कारबाहीमा परेको छ ।

 आइतबार विराटनगरस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले उद्योगलाई दुई लाख जरिवाना गर्याे ।

विराटनगर–९ ट्राफिक चोककी अञ्जना सिंहले खरिद गरेको सिल लगाएको सिलिन्डर खाली भेटिएको थियो । उनले यसबारे वाणिज्य कार्यालयलाई जानकारी गराएकी थिइन् । 

सिल लगाएको सिलिन्डरमा १४ केजी २०० ग्राम ग्यास हुन्छ । तर, सिंहले घर लगेको ग्यासको सिलिन्डर खाली थियो । सिंहले भनिन्, “कोसी ग्यासको न्यू हिमाल डिलरका प्रतिनिधिसँग खरिद गरेकी थिएँ, सिलिन्डरमा त ग्यास नै रहेन छ ।”

प्रयोगकर्ताबाट गुनासोसहितको जानकारी आएपछि ग्यास उद्योगलाई जरिवाना गरिएको वाणिज्य कार्यालयले जनाएको छ । कार्यालय प्रमुख हितेश बस्नेतले भने, “सिल गरेको सिलिन्डर खाली हुनु गम्भीर गल्ती हो ।”

उपभोक्ता संरक्षण ऐनअनुसार कोसी ग्यास उद्योगलाई जरिवाना गराएको उनले बताए । 

उता कोसी ग्यास उद्योगका प्रबन्धक सचितकुमार उपाध्ययले उद्योगबाट सही तरिकाले सिलिन्डर पठाउने गरिएको दाबी गरे । उनले भने, “सँगै भरेका उद्योगमा रहेका अरू सिलिन्डर दुरुस्त छन् । बाहिर पठाएकोमा ग्यास नहुनु अचम्मलाग्दो विषय हो ।”

उनले उद्योगको बदनामी गराउन कसैले बदमासी गरेको हुन सक्ने दावी गरेका छन् ।