आज विश्व पर्यटन दिवस मनाइँदै
२०८० आश्विन १०, बुधबार १०:१०
४४औं विश्व पर्यटन दिवस आज नेपालमा विविध कार्यक्रम गरी मनाइँदैछ ।
यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग र पर्यटन क्षेत्रका अग्रणी संघसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउँदैछन् ।
‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा पनि विश्व पर्यटन दिवस मनाइँदै आएको मन्त्रालयले जनाएको छ ।
दिवसलाई धुमधामका साथ मनाउनका लागि पर्यटनमन्त्री सुडान किराँतीको अध्यक्षतामा ४४औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।
आज बिहान ६ बजे पहिलो उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने विदेशी पर्यटकलाई पर्यटनमन्त्रीले स्वागत गर्ने मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले जानकारी दिए ।
त्यसैगरी आज बिहान ७ः३० बजे पाटनढोका, ललितपुरदेखि मंगलबजारसम्म प्रभातफेरी निकालिनेछ । पाटन दरबार क्षेत्रमा औपचारिक कार्यक्रम गरिने भएको छ ।
पर्यटन मन्त्रालय र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा आज बढी विदेशी मुद्रा आर्जन गर्ने संस्था र पर्यटन क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिने भएको छ ।
‘सबैका लागि पहुँचयोग्य पर्यटन प्रवर्द्धन’ भन्ने नाराका साथ हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइँदैछ ।




