काभ्रे जिल्लाको रोशी गाउँपालिकाले एक हजार ७८० घरधुरीलाई निःशुल्क स्वास्थ्य बीमा सेवा उपलब्ध गराएको छ । लाभान्वित स्थानीय बासिन्दाको बीमा प्रिमियमको रकम गाउँपालिकाले बुझाएको छ । त्यस्तै अन्य ८ सय ८६ परिवारलाई संघीय सरकारबाट स्वास्थ्य बीमा योजना उपलब्ध गराइएको छ ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले लाभग्राहीमा ६० वर्षभन्दा माथिका व्यक्ति रहेको बताए ।

त्यसैगरी पूर्ण शारीरिक अपाङ्गता भएका ५४ जनालाई बीमा योजना प्रदान गरिएको छ भने महिला स्वयंसेविकाको तीन एचएचको बिमा प्रिमियम रकमको आधा रकम पनि भुक्तानी गरिएको छ ।

गाउँपालिकाका अनुसार ४ सय १ जनाले आफ्नो स्वास्थ्य बीमाको प्रिमियम आफैं तिरेका छन् ।

योसँगै रोशी गाउँपालिकाका कुल नागरिकमध्ये ३७.३१ प्रतिशतले स्वास्थ्य बीमा पाएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गंगा श्रेष्ठले जानकारी दिए ।

ज्येष्ठ नागरिकको स्वास्थ्य सेवाका लागि गत आर्थिक वर्षमा गाउँपालिकाले ६ करोड ५० लाख रुपैयाँ खर्च गरेको थियो ।

अध्यक्ष लामाका अनुसार गाउँपालिकाका प्रत्येक नागरिकको उपचारको बिमा गर्न र उचित स्वास्थ्य सेवा नपाउँदा कसैलाई पनि नछुटाउन गाउँपालिकामा स्वास्थ्य बीमा योजना लागू गरिएको हो ।