मार्कण्डेय पुराण अन्तर्गत दुर्गा सप्तशती( चण्डी) को आठौं अध्यायमा रक्तबीज असुरको कथा प्रसङ्ग आउँछ । पुराणमा उल्लेख भए अनुसार  रक्तबीजले भगवान ब्रह्माको  कठोर तपस्या पश्चात् एउटा वरदान पाएको हुन्छ जस अनुसार उसको शरीरबाट जति थोपा रगत जमिनमा खस्दछ, त्यति नै सङ्ख्यामा हरेक थोपाबाट अर्को रक्तबीज जन्मिनेछ जो शरीर, बल, र रुपमा रक्तबीज समानकै हुनेछ ।

चण्डीको आठौं अध्यायमा रहेका दुई श्लोकहरुले यस कथाको वर्णन गर्दछन्:

” पलायनपरान् दृष्ट्वा दैत्यान् मातृगणार्दितान् ।

योद्धुमभ्याययौ क्रुद्धो रक्तबीजो महासुर: ।।

रक्तबिन्दुर्यदा भूमौ पतत्यस्य शरीरत:

समुत्पतति मेदिन्यां तत्प्रमाणस्तदाऽसुर ।।”

अर्थात्: मातृगणद्वारा पीडित दैत्यहरु संग्रामबाट भाग्न लागेको देखेर रक्तबीज नामक दैत्य क्रुद्ध भई भगवती देवीसँग युद्ध गर्न अघि सर्यो । रक्तबीजको शरीरमा चोट लागेर जति थोपा रगत भूमिमा खस्दथ्यो, त्यति नै सङ्ख्यामा उस्तै  पराक्रमी दैत्य पृथ्वीमा उत्पन्न हुन्थे ।

रक्तबीजलाई मार्न मातृशक्तिहरुले अनेक हतियारले उसमाथि प्रहार गरे ।ती हतियारले घाइते भएको रक्तबीजको शरीरबाट बगेको हरेक थोपाबाट रक्तबीज समानकै बलशाली, समान रुप र शरीर भएका  हजारौं योद्धाहरु उत्पन्न हुनथाले र तिनीहरुको संख्याले पुरै रणभूमि ढाकियो ।

” तान् विषण्णान् सुरान् दृष्ट्वा चण्डिका प्राह सत्वरा

उवाच कालीं चामण्डे विस्तीर्णं वदनं कुरू ।

मच्छस्त्रपातसम्भूतान् रक्तबिन्दून् महासुरान् ।

रक्तबिन्दो: प्रतीच्छ त्वं वक्त्रेणाऽनेन वेगिना ।

भक्षयन्ती चर रणे तदुत्पन्नान्महासुरान् ।

एवमेष क्षयं दैत्य: क्षीणरक्तो गमिष्यति ।”

“रक्तबीजको रगतबाट प्रकट भएका असुरहरुद्वारा संसार व्याप्त भएपछि डराएका देवताहरुलाई देखेर चण्डिकाले काली भगवतीलाई भनिन्, ” चामुण्डे! तिमी आफ्नो मुख विस्तार गर ।मैले प्रहार गरेको शस्त्रले रक्तबीजको शरीरबाट बग्ने रगत र त्यसबाट उत्पन्न हुने दैत्यहरुलाई तिमी खाँदै जाऊ । ती महादैत्यहरुको भक्षण गर्दै तिमी रणमा डुलिरहू । रक्तबीजको शरीरबाट सारा रगत सकिएपछि त्यो स्वयं नष्ट हुनेछ ।”

आजको युगमा रक्तबीजको मिथकलाई हामी क्लोनिङ( Cloning) का रुपमा पुनर्व्याख्या गर्नसक्छौं। क्लोनिङ विधिमा हरेक जीवको जिनेटिक नक्कल गरी उक्त जीव सदृश जति सुकै पनि सङ्ख्यामा उक्त जीवको उत्पादन गर्न सकिन्छ ।

यति भनेर दुर्गाले रक्तबीजमाथि शस्त्र प्रहार गरिन् र कालीले तत्कालै रक्तबीजको शरीरबाट प्रवाहित सारा रक्त पिइदिइन् ।साथै पहिले उत्पन्न भएका रक्तबीज समसदृश सम्पूर्ण दैत्यहरुलाई पनि कालीले भक्षण गरिदिइन् । यसरी अनेक शस्त्रास्त्रले आहत भएको रक्तबीज रक्तहीन भएर भुइँमा ढल्यो ।

रक्तबीज प्रवृत्तिको प्रभाव

गहिरिएर अध्ययन गर्दा रक्तबीज प्रवृत्तिको प्रभाव समाजका हरेक पक्षमा परेको देख्न सकिन्छ । यो प्रवृत्तिको शुरुवात व्यक्तिबाटै हुन्छ र यो डरलाग्दो र हानिकारक प्रवृत्तिले अन्य व्यक्तिलाई पनि आफुजस्तै बनाइदिन्छ । धार्मिक, शैक्षिक, राजनैतिक, न्याय, निजामति लगायतका  हरेक क्षेत्रहरुमा रक्तबीज प्रवृत्तिको प्रभाव परेको छ । 

हलिवुड फिल्म म्याट्रिक्सको( The Matrix) प्रमुख खलनायक पात्र एजेन्ट स्मिथ ( Agent Smith) रक्तबीजसदृश पात्र हो जसले अरु व्यक्तिलाई छुने वा हेर्ने बित्तिकै तिनीहरुलाई आफ्नै रुपमा परिवर्तित गरिदिने शक्तिले युक्त हुन्छ । 

। रक्तबीज प्रवृत्तिको जहाँ जहाँ प्रवेश हुन्छ, त्यसले त्यहाँको प्रणालीलाई असफल बनाउने यत्न गर्दछ। देशको  प्रशासनिक, निजामति, शैक्षिक, राजनैतिक  एवं गैर सरकारी लगायतका हरेक क्षेत्रमा यस्ता यस्तो रक्तबीजप्रवृत्तिको उपस्थिति रहेको छ, जो चाकरी, चाप्लुसी, भनसुन, नातावाद, कृपावाद र भ्रष्टाचारको चक्रव्युहद्वारा आफू सदृश अरु हजारौं क्लोन जन्माउन उद्यत रहन्छ । यो प्रवृत्तिले इमानदार र कर्तव्यनिष्ठहरुलाई आफुसमान बनाई उक्त संरचनालाई पङ्गु बनाउने प्रयास गर्दछ । पदलोलुपता, शक्ति आर्जन गर्ने ध्याउन्न अनि म र मेरो,मेरा र हाम्राका लागि धन आर्जन गर्ने ध्येयले मानिस स्वयं रक्तबीज बन्दछ र अरुलाई पनि आफुजस्तै बनाउन खोज्दछ । भौतिक सुखसयल, विलासिता, खोक्रो मान, इज्जत र प्रतिष्ठा प्राप्त गर्ने लालसाले देशमा भ्रष्टाचार र माफियाको जालो रक्तबीज जस्तै सहस्र फैलिदै गएको अवस्था छ । 

रक्तबीजको अन्त्य:

 रक्तबीजको अन्त्य गर्न सजिलो छ‌‌ैन तर असम्भव पनि छैन । मातृशक्तिहरुले अस्त्र शस्त्रले रक्तबीजको शरीरका बाहिरी अवयवहरुमा प्रहार गरेर यसको अन्त्य हुँदैन । यो भनेको रुखका दुइचारवटा पातहरु झारेजस्तै हो । यसको समूल अन्त्यका लागि महाकालीले मुख बाएर रक्तबीजको रगत पुरै पिएर उसलाई रक्तहीन बनाएजस्तै हो । महाकालीको मुखलाई एउटा प्रतीकको रुपमा लिनुपर्छ ।यो भनेको समाजका हरेक क्षेत्रमा विद्यमान रक्तबीज  प्रवृत्ति बिरुद्ध सबैले आफ्नो कतृत्व र वकृत्वले सकारात्मक कार्य गर्ने चेष्टा गर्नु हो । बोलौं, लेखौं र यसको मूल जरोलाई नै नष्ट गर्ने कुरामा जोड दिऊँ ।

आउँदै गरेका दशैं, तिहार, छठ, उँधौली लगायतका चाडपर्वहरुले हामीभित्र भएका रक्तबीज प्रवृत्तिको समूल नष्ट गर्न शक्ति प्रदान गरून् र यस प्रवृत्तिबिरुद्ध मुख बाएर बोल्ने र सत्कर्म गर्ने शक्तिको विकास गरोस् ।

या देवी सर्वभूतेषु शक्ति रुपेण संस्थिता ।

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनम: ।

(लेखक जगन्नाथ कट्टेलका निजी विचार हुन् )