एसियाकै ठूलो चट्टान शालिग्राम संरक्षणको अभावमा कमजोर अवस्थामा छ ।

शालिग्रामको पूजा–आराधना गर्नाले जानी–नजानी गरेको पाप हट्ने र मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।

गुल्मी, पर्वत र स्याङ्जा जिल्लाको सीमा नाका सेवेनीमा अवस्थित शालिग्राम कालीगण्डकी नदीको कटानका कारण कमजोर बनेको छ ।

कालीगण्डकी नदीले गुल्मीतर्फको चट्टान भत्किँदा शालिग्राम वरपर बनेको पर्खालमा पनि क्षति पुगेको छ । अहिले ढुंगा जोगाउन कसैको ध्यान गएको छैन ।

जानीजानी गरेको पापको परिशोधन गर्ने र भक्तजनको मनोकामना पूरा गर्ने शालिग्राम अहिले घट्न थालेको कालीगण्डकी गाउँपालिका–१ गुल्मी हर्मीचौर गाउँपालिकाका स्थानीय मुक्तिराम पाण्डेले बताए । संरक्षणको अभाव।

एसियाकै चर्चित शालिग्रामको संरक्षणमा कसैले चासो नदेखेको पाण्डेले बताए ।

तीन जिल्ला र दुई प्रदेशले जोगाउन चासो नदेखेकाले देशको धर्म, संस्कृति र इतिहासप्रति ध्यान नदिएको प्रष्ट भएको पाण्डेले बताए ।

गुल्मीको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले यसको संरक्षणका लागि तीन जिल्लाका तीन स्थानीय तहले साझा अवधारणा विकास गर्नुपर्नेमा जोड दिए ।

थापाले धार्मिक, साँस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षणका लागि तीनै जिल्लाका स्थानीय तहले बैठक बोलाउनुपर्ने बताए । 

उनले शालिग्रामको संरक्षणका लागि कालीगण्डकी गाउँपालिका सदैव तत्पर रहेको बताए ।

तर, स्याङ्जाको गल्याङ नगरपालिकाका अध्यक्ष गुरुप्रसाद भट्टराईले थोरै रकममा शालिग्राम बचाउन नसकिने भएकाले प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिरहेको बताए ।

 उनले शालिग्राम संरक्षणका लागि आवश्यक बजेट उपलब्ध गराउन संघ र प्रदेश सरकारका पदाधिकारीलाई आग्रह गरेको बताए ।

उनले यो क्षेत्र पर्यटकीय हिसाबले महत्वपूर्ण भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व रहेको बताए । ‘बजार क्षेत्रको बस्ती पनि बाढीको जोखिममा छ, प्राविधिकको टोली बनाएर अध्ययन गर्ने योजना बनाइएको छ,’ उनले वताएका छन्