राष्ट्रसंघका महासचिव अन्नपूर्ण आधार शिविर प्रस्थान
२०८० कार्तिक १४, मंगलवार १०:३७
नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा सोमबार पोखरा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर प्रस्थान गरेका छन् ।
उहाँ आज बिहान नेपाली सेनाको हेलिकप्टरमा आधार शिविरतर्फ प्रस्थान गर्नुभएको हो । संयुक्त राष्ट्रसङ्घका उच्च पदस्थ अधिकारीले आधार शिविरमा पुगेर जलवायु परिवर्तनबाट हिमाली क्षेत्रमा परेको असर, हिमालको अवस्थालगायतका विषयमा स्थानीयसँग कुराकानी गर्ने बताइएको छ । आधार शिविर समुन्द्री सतहबाट ४१३० मिटरको उचाइमा अवस्थित छ ।
महासचिवको स्वागतका लागि सबै तयारी पूरा भएको छोम्रोङ पर्यटन समितिका सचिव दिलीप गुरुङले जानकारी दिए ।
अन्नपूर्ण आधार शिविर पदयात्रा पर्यटनमा विश्व प्रसिद्ध र उच्च मूल्याङ्कन गन्तव्य हो। अन्नपूर्ण हिमालको फेद वरपरको पदयात्रालाई विश्वकै उत्कृष्ट पदयात्रामध्ये एक मानिन्छ । अन्नपूर्ण हिमाल समुन्द्री सतहबाट ८,०९१ मिटर (२६,५४५ फिट) उचाइमा रहेको विश्वको दशौं अग्लो हिमाल हो र यसको आरोहणमा हुने कठिनाई र खतराका लागि प्रख्यात छ।
सन् १९५० मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगले फ्रान्सेली आरोहणको नेतृत्व गर्दै उत्तर फेस हुँदै आफ्नो सगरमाथामा पुगेपछि अन्नपूर्णले विश्वभरका पर्वतारोहीहरूको ध्यानाकर्षण गर्न थालेको थियो र यो पहिलो आठ हजार मिटरको चुचुरो सफलतापूर्वक आरोहण गरेको थियो।
अन्नपूर्ण आधार शिविरमा ट्रेकिङका लागि युरोप, अमेरिका, मलेसिया, चीन, कोरियालगायतका देशबाट विशेषगरी पर्यटक आउने गर्दछन् ।
विश्वप्रसिद्ध पदयात्री एरिक सिम्प्टनले सन् १९९६ मा अन्नपूर्ण आधार शिविरमा पहिलो पटक चुचुरो आरोहण गरेको डेढ दशकपछि पदयात्रा गरेपछि यो क्षेत्र लोकप्रिय पदयात्रा गन्तव्य बनेको छ ।




