सरकार र एसियाली विकास बैंक (एडिबी) बीच आज ग्रामीण कनेक्टिभिटी परियोजना कार्यान्वयनका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा करिब १३ अर्ब रुपैयाँ बराबरको १० करोड अमेरिकी डलर ऋण रहेको छ । सम्झौतामा आज अर्थ मन्त्रालयमा अर्थसचिव कृष्णहरि पुष्कर र एडीबीका नेपालका लागि देशीय निर्देशक अर्नाउड कचोइसले हस्ताक्षर गरेका छन् 

त्यसैगरी आयोजना सम्झौतामा स्थानीय पूर्वाधार विभागका महानिर्देशक भरतप्रसाद अर्याल, पाँच प्रदेश सचिवहरु रमेशकुमार सिंह, अमृत श्रेष्ठ, शंकरप्रसाद पण्डित, सुनिल पौडेल र विष्णु भण्डारीले हस्ताक्षर गरे ।

परियोजनाले ग्रामीण सडक जडानलाई सुदृढ गर्ने र ग्रामीण पूर्वाधार एजेन्सीहरू र सडक प्रयोगकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। प्रस्तावित सहायताले वर्षभरि सडक जडानको स्थापना र मर्मत गरी रूपान्तरणकारी प्रभाव पार्ने अपेक्षा गरिएको छ।

सो अवसरमा अर्थ सचिवले भने, ‘बढ्दो मात्रामा बाढी र पहिरोले सडकमा क्षति पुर्‍याउने उने जस्ता जलवायु परिवर्तनको असरबाट ग्रामीण समुदाय पनि जोखिममा छन् ।

यस सन्दर्भमा, यो परियोजनाले ग्रामीण क्षेत्रहरूमा समावेशीकरण र वृद्धिलाई प्रवर्द्धन गर्न वर्षभरी जडान स्थापना र कायम राख्न ठूलो सान्दर्भिकता र महत्त्व राख्दछ।”

नेपालका लागि एडिबीका देशीय निर्देशकले सहुलियतपूर्ण ऋणले नेपालका सातमध्ये पाँच प्रदेशमा ३२४ किलोमिटर सडक र पुल निर्माण गरी ग्रामीण सम्पर्क सञ्जालमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

अर्थ सचिवले नेपालको सामाजिक–आर्थिक विकासमा एडीबीको निरन्तर सहयोगको प्रशंसा गरे ।