एसियाली विकास बैंक (एडिबी)ले ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा ​​लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडीबीका महानिर्देशक रमेश सुब्रमण्यम र एडीबी–नेपालका आवासीय नियोग निर्देशक अर्नाउड काचोइस सम्मिलित टोलीले आयोजनाको स्थलगत अनुगमन गरेको थियो ।

टोलीले जलाशय क्षेत्र र पावर हाउस क्षेत्रको निरीक्षण गरेको थियो। उनले बाँधस्थल खोटाङको रबुवा बजारमा स्थानीय तहका जनप्रतिनिधिसँग पनि अन्तरक्रिया गरेका थिए ।

आयोजना अगाडि बढाउन उच्चस्तरीय टोलीको स्थलगत भ्रमण लगभग अन्तिम निरीक्षण भएको भन्दै महानिर्देशक सुब्रमण्यमले एडीबीको नेतृत्वमा छिट्टै आर्थिक व्यवस्थापन गर्न लागिएको बताए ।

उनले प्राविधिक, वातावरणीय र सामाजिक पक्षलाई जतिसक्दो चाँडो निष्कर्षमा पुर्याएर आयोजनाको निर्माण सुरु गर्नुपर्ने आवश्यकता औंल्याए । आयोजनाको निर्माण अवधिको ब्याज सहित अनुमानित लागत २.२० अमेरिकी डलर रहेको छ ।

आयोजनामा ​​एडीबीको नेतृत्वमा रहेका विभिन्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट कुल एक अर्ब अमेरिकी डलर लगानी हुनेछ । त्यसमध्ये एडीबीले आयोजनामा ​​५५ करोड अमेरिकी डलर ऋण लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

त्यसैगरी एडीबी नेपालका आवासीय नियोग निर्देशक अर्नाउडले निर्णय प्रक्रियालाई तीव्रता दिन आफूहरु सक्रिय रुपमा काम गरिरहेको र नेपाल सरकारसँग पटक पटक वार्तामा संलग्न भईरहेको बताए ।

दूधकोशी मेगा प्रोजेक्ट र सार्क क्षेत्रको अहिलेसम्मकै ठूलो बाँध आयोजना भएकाले स्थानीय समुदायलाई उनले संयमता अपनाउन आग्रह गरे ।