कोभिड–१९ को महामारीपछि बन्द रहेको तिप्तला नाका सुचारु हुने भन्दै ताप्लेजुङका स्थानीयवासी पर्खिरहेका छन् ।

फाक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङ्गोलादेखि २५ किलोमिटर उत्तरमा अवस्थित तिप्तला नाका झण्डै चार वर्षदेखि बन्द छ ।

तिप्तला नाका लामो समयदेखि बन्द हुँदा अत्यावश्यक वस्तुको आयात–निर्यातमा असर पर्दा ओलाङचुङ्गोला–७ को फले, घुन्सा र भक्तालुङ गाउँपालिका–६ लेलेपका याङ्माका बासिन्दा मर्कामा परेका छन् ।

ओलाङचुङ्गोला, याङ्मा, फाले र घुन्साका बासिन्दा तिब्बतको रिउ बजारबाट सस्तोमा अत्यावश्यक वस्तु ल्याएर सुक्खा याक चिज, गलैंचालगायत पशुजन्य उत्पादन बिक्री गर्ने गर्दथे । तिप्तला नाका बन्द भएपछि यी क्षेत्रका बासिन्दाले जिल्ला सदरमुकाम फुङ्लिङबाट अत्यावश्यक सामग्री दोब्बर तिरेर ल्याउन बाध्य छन् ।

ओलाङचुङगोलाका स्थानीय होटेल व्यवसायी दाबफुटी शेर्पाले थप ढुवानी लागतले फुङलिङमा किनेका सामान खरिद मूल्यभन्दा महँगो हुने बताए ।

फुङ्लिङदेखि लेलेपको इलाडाँडासम्म सामान ढुवानी गर्दा थप  सवारी साधन प्रयोग गरेर मालसामान ढुवानी गर्दा प्रतिकिलो रू ६ लाग्छ थप शुल्क  इलाडाँडादेखि ओलाङचुङ्गोलासम्म भरियाको प्रयोग गरी ढुवानी गर्दा प्रतिकिलो रू ६०

ओलाङचुङ्गोला वडा अध्यक्ष चेतेन शेर्पाले तिप्तला नाका खोल्दा हिमाली क्षेत्रका बासिन्दालाई ठूलो फाइदा हुने बताए ।

 ढुवानी सुविधा नहुँदा पनि रिउ बजारबाट अत्यावश्यक सामग्री आयात गर्दा फुङ्लिङबाट आउने सामानको आधा मूल्य लाग्ने उनको अनुमान छ ।

सीमा नाका बन्द हुँदा चौँरी लगायतका गाईवस्तु बिक्री गर्न नसक्दा पशुपालनमा लागेकाहरु समस्यामा परेको शेर्पाले बताए । तिब्बतमा निकासी गर्ने याक अहिले बेच्न नसक्दा स्थानीयवासीले समस्या भोगिरहेका छन् ।

तिप्तला नाका खोल्ने प्रयास जारी छ । अक्टोबरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा सीमा नाका खोल्ने विषयमा भएको छलफल सकारात्मक हुँदा चाँडो समाधान हुने आशा जगाएको थियो ।

हालै नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको टोलीले पनि नाका खोल्न दबाब दिने उद्देश्यले तिप्तला क्षेत्रको भ्रमण गरेको थियो ।

जिल्लाका प्रमुख पत्रकारसहितको टोलीले डिङ्जे काउन्टी क्षेत्रका अधिकारीसँग भेटेर नाका खोल्न पहल गर्न आग्रह गरेको महासंघका शाखा अध्यक्ष आनन्द गौतमले जानकारी दिए ।