एक सहयोगी प्रयासमा लुम्बिनीको बुद्ध सर्किट भित्रका चार स्थानीय सरकारहरू, लुम्बिनी विकास कोष (एलडीटी), गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्य संस्थाहरू लुम्बिनीको विश्वव्यापी मान्यता बढाउन हात मिलाउन सहमत भएका छन्।

 गौतम बुद्धको जन्मस्थल लुम्बिनी सांस्कृतिक, रामग्राम, कपिलवस्तु र देवदह नगरपालिकाका साथै एलडीटी र एनआरएनए अमेरिका र युरोपबीच शनिबार भर्चुअल बैठक सम्पन्न भएको छ ।

बैठक लुम्बिनी सांस्कृतिक नगरपालिकाले आयोजना गरेको हो ।

एलडीटीका कोषाध्यक्ष धुन्डिराज भट्टराईले यस क्षेत्रको प्रचार प्रसारमा एनआरएनएको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो । लुम्बिनी र बुद्धका शिक्षालाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्न एनआरएनसँग सहयोग खोज्ने एलडीटीको नीतिबारे जानकारी दिँदै उनले यस ऐतिहासिक सहरमा थप पर्यटक भित्र्याउने योजनालाई सार्थक बनाउन व्यापक सहकार्य गर्न आग्रह गरे।

लुम्बिनी साँस्कृतिकका मेयर सजरुद्धिन मुस्लिमले लुम्बिनीको विश्वव्यापी पहिचानलाई अझ उचाइमा पुर्याउन थप पहल गर्नुपर्ने बताउनुभयो ।

रामग्रामका मेयर धनपत यादव, देवदहका ध्रुवप्रसाद खरेल र कपिलवस्तुका सुदीप पौडेलले लुम्बिनी मात्र नभई रामग्राम, देवदह र कपिलवस्तुलाई समेत लक्षित गरी विकासका पहल गर्नुपर्नेमा जोड दिए ।

एनआरएनए अमेरिकाका उपाध्यक्ष नेत्रप्रसाद पाण्डेले लुम्बिनी र बुद्धिस्ट सर्किटको प्रवद्र्धनका लागि सामूहिक प्रयासको आवश्यकतामा जोड दिए । अन्य वक्ताले लुम्बिनीमा पर्यटकको बसाइ विस्तार गर्नुपर्ने महत्त्वलाई प्रकाश पारे।

लुम्बिनीको थप विकासका लागि गरिने प्रयासमा युरोप–नेपाल चेम्बर अफ कमर्स फर टुरिजम, नेपाली समाज टेक्सास, नेपाल सांस्कृतिक तथा आध्यात्मिक केन्द्रलगायतका विभिन्न संघसंस्थाहरुबाट सहयोग र सहकार्य लिने निर्णयमा बैठक सम्पन्न भएको हो