वामन पुराणमा राजा बलि र वामनावतारको प्रसङ्ग आउँछ । राजा बलि हिरण्यकश्यपुका पनाति, प्रल्हादका नाति र विरोचनका छोरा थिए । राजा बलिले दैत्य गुरु शुक्राचार्यको सल्लाहमा अश्वमेध यज्ञ गरे र अत्यन्तै शक्तिशाली बन्न पुगे । तदुपरान्त बलिले इन्द्रादि देवताहरुलाई युद्धमा पराजित गरे र उनी स्वर्ग, मर्त्य र पाताल तीनै लोकको अधिपति हुनपुगे ।  इन्द्रादि आदित्य देवताहरुले विष्णुसँग सहायता माँगेपछि विष्णुले देवताहरुकी माता अदितिको कोखबाट आफू वामन अवतारका रुपमा जन्मिने र बलिले खोसेको स्वर्ग देवताहरुलाई फिर्ता दिने वचन दिए । 

विष्णुले पाँचौं अवतारका रुपमा अदितिका गर्भबाट वामन( पुड्को/ Dwarf) अवतारका रुपमा जन्म लिए । वामन भिक्षुकको भेषमा राजा बलि र शुक्रचार्यले अश्वमेध यज्ञ गर्दै गरेको स्थानमा पुगे र उनले भिक्षा माँगे । बलि असाध्यै दानी पनि थिए । आफुसँग अथाह सम्पत्ति भएको र भिक्षुकले जे माँगे पनि आफुले दान दिने कुरा बलिले बताए । भिक्षुकको भेषमा रहेका वामनले आफ्ना लागि मात्र तीन पाद( पाउ/ पैताला) जमिन माँगे । शुक्राचार्यले बलिलाई भिक्षुकको माँग पुरा नगर्न अनुरोध गर्दै यिनी विष्णु रहेकाले बलिको सर्वस्व माँग्न आएकोतर्फ सचेत गराए । बलिले दान दिने वचन दिइसकेकाले आफू पछि नहट्ने प्रतिबद्धता जनाए । भिक्षुकको भेषमा रहेका वामन विष्णु आफ्नो वास्तविक स्वरुपमा आए । उनले आफ्नो कद विस्तीर्ण गरे । उनले एक पाउले पृथ्वी ढाकिदिए, दोस्रो पाउले स्वर्ग ढाकिदिए र तेस्रो पाउ राख्ने स्थान बलिसँग माँगे । बलिलाई आफ्नो शानशौकत, शक्ति र धनसम्पत्तिमाथिको जुन अहं थियो, त्यो चूर्ण भइसकेको थियो । उनले विष्णुलाई तेस्रो पाउ आफ्नो शिरमाथि राख्न अनुरोध गरे । बलि राजा पाउले दबिएर पाताल पुगे । विष्णुले बलिलाई पातालको अधिपति हुने वरदान दिए ।

बलिले विष्णुलाई पातालमा आफ्नो दरबारमा निवास गर्नको लागि अनुरोध गरे । विष्णुले आषाढ शुक्ल एकादशीका दिन आफू पातालमा आउने र बलिको दरबारको पाले भएर  बस्ने र चार महिनापछि कार्तिक शुक्ल एकादशीका दिन आफू वैकुण्ठलोक फर्किने वचन बलिलाई दिए । त्यस‌ै वचन अनुरुप आषाढ शुक्ल एकादशीका दिन विष्णु वैकुण्ठबाट पाताललोक( पृथ्वीभन्दा मुनिको लोक) जान्छन्, जसलाई हरिशयनी एकादशी पनि भनिन्छ,अर्थात् विष्णु धर्तीमुनि पाताललोकमा सुत्न जान्छन् । अनि कार्तिक शुक्ल एकादशीका दिन उनी ब्युँझिन्छन् र पातालबाट ब‌ैकुण्ठ फर्किन्छन् । यस दिनलाई हरिबोधिनी एकादशी पनि भनिन्छ ।

स्विट्जरल्याण्डमा सन् १८७५ मा जन्मेका मनोविश्लेषक( psychoanalyist) एवं मनोचिकित्सक( Psychiatrist) कार्ल गुस्ताब युङ्ग( Carl Gustav Jung) भन्छन्:” मिथकका( Myth) बारेमा ३ वटा प्रश्न गर्न सकिन्छ:

१. मिथकको विषयबस्तु ( Subject matter)के हो?

२. मिथकको उत्पत्तिको (Origin) स्रोत के हो?

३. मिथकको कार्य( Function) के हो?”

युङ्ग यी तीनै प्रश्नको उत्तर दिने प्रयत्न गर्छन् र भन्छन्: ” मिथको विषयबस्तु शाब्दिक( Literal) नभई प्रतिकात्मक( Symbolic) हुन्छ र यसको सम्बन्ध बाहिरी भौतिक संसार(Outer physical world) सँग नभई मानव मस्तिष्क/ मनोविज्ञानसँग( Human Mind) हुन्छ ।”

युङ्ग मिथकमा देवीदेवता वा ठूला ठूला राजा र महाराजाहरुको जन्म/ अवतार/ उदय र मृत्यु/ अवसान/ पतनलाई प्रतिकात्मक मान्छन्, जुन बाहिरी भौतिक संसारमा घटित घटनासँग सम्बन्धित  नभई मानवीय मस्तिष्कमा घटित मनोविज्ञानसँग सम्बन्धित हुन्छ । यो भनेको देवीदेवता वा राजामहाराजाको जन्म वा उदय भनेको प्रतिकात्मक रुपमा मानवको अचेतनबाट( Unconscious) अहं( Ego) को जन्म अनि राजामहाराजाहरुको मृत्यु वा अवसान भनेको अहंको मृत्यु वा मानवको अचेतनमा यसको फिराई हो ।” 

माथिको बलि राजा र वामनावतारको मिथकमा हामी देख्न सक्छौं कि बलिलाई आफ्नो  शौर्य र सम्पत्तिको अहं थियो ।  उनको अचेतनबाट उनको अहंले जन्म लिइसकेको थियो र यो अहंको शमन हुनु जरुरी थियो ।जब विष्णुले तेस्रो पाउ उनको टाउकामाथि राखे उनको अहं उनको अचेतनमा दमित भयो वा भनौं उनको अहंको मृत्यु भयो । बलि राजा खुट्टाले दबिएर पाताललोकमा पुग्नुले उनको अहंको मृत्यु वा अचेतनमा फर्किएको प्रतिकात्मक अर्थ बोक्छ ।

अर्कोतर्फ बलिको पाताललोकको दरबारमा विष्णुले आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चारमहिना बिताउनु वनष्पति( बालीनालीको) उत्पादनसँग पनि सम्बन्धित छ । भारतवर्षको एउटा मुख्य बाली भनेको धान हो । उहिलेदेखि नै खाद्यान्नको लागि, अश्वमेध लगायतका अनेकौं यज्ञादि कार्यमा दानका लागि र होमादि कर्ममा चरु निर्माणका लागि धान/ चामलको प्रयोग मुख्य रुपमा हुन्थ्यो र अद्यापि हुँदै आइरहेको छ । 

धान रोप्ने कार्य मुख्यत:  असार महिनामा हुन्छ । हरिशयनी एकादशी पनि सामान्यतया असार महिनामै पर्छ । किसानहरु असार महिनामा धान रोप्न व्यस्त हुन्छन् । ब्याडबाट बीउ उखेली खेतमा रोप्ने कार्य उल्लासपूर्वक शुरु हुन्छ यो बेला । मानिसहरु काममा दत्तचित्त हुन्छन् । धानबाली रोप्ने बेलामा उनीहरुको अचेतनबाट अहंले जन्म लिएकै हुँदैन । त्यसैले विष्णु आषाढ शुक्ल एकादशीका दिन पाताललोकमा शयन गर्न जानु भनेको अहं अचेतनमा दमित भएको वा अहंको मृत्यु भएको अवस्था हो र यो अहं चार महिना अचेतनमा दमित भएर रहन्छ भन्ने प्रतिकात्मकता बोक्दछ ।

कार्तिक लागेपछि धानबाली काट्ने बेला हुन्छ । हरिबोधिनी एकादशी पनि सामान्यतया कार्तिकमै पर्छ । विष्णु चार महिना पातालमा शयन गरेर कार्तिक शुक्ल एकादशीका दिन जाग्नु( हरिबोधिनी)  भनेको प्रतिकात्मक अर्थमा मानिसको अचेतनबाट अहंको जन्म हुनु हो । कार्तिकमा धान दाइँ गरिसकेपछि बेच्ने बेला हुन्छ । अनि शुरु हुन्छ दरदामको र मोलमोलाईको । जमिनदार, सामन्ती, बिचौलिया र व्यापारीहरुहरुले गरीब किसानबाट बाली हडप्ने,  सस्तोमा किनेर नाफा लिई बढीमा बेच्ने र पैसा कमाउने लोभ र अहं जन्मिन्छ । हिजो धानको, चामलको मोलमोलाई हुन्थ्यो भने अचेल जग्गाको मोलमोलाईको युग छ । वर्खामा बाली रोपेको अवस्थामा जग्गाखेतीको किनबेचको प्रसङ्ग खासै हुँदैन । जग्गाको कारोबार , प्लटिङ गरी नाफा कमाउने अहं खासै हुन्न । बाली काटिसकेपछि शुरु हुन्छ, जग्गाको मोलमोलाई र प्लटिङ । अनि जन्मिन्छ- जग्गा बेचेर र किनेर नाफा कमाउने अहं ।

निष्कर्ष: युङ्ग भन्छन्” मिथकहरु हाम्रो सामुहिक अचेतनसँग( Collective Unconscious) सम्बन्धित हुन्छन् । ” मिथकहरु शाब्दिकभन्दा पनि प्रतिकात्मक हुन्छन र यिनीहरु बाहिरी भौतिक संसारभन्दा पनि मानिसको आन्तरिक मनोविज्ञानसँग सम्बन्धित हुन्छन् ।” तसर्थ कुनै पनि धर्मसंस्कृतिभित्र रहेका र त्यहाँ पाइने मिथकहरुलाई शाब्दिक भन्दा पनि प्रतिकात्मक अर्थमा बुझ्ने प्रयत्न गर्नुपर्छ किनकी तिनीहरु मानव जीवनभन्दा पनि विशाल( Larger than life) र गहनतम हुन्छन् ।मिथकहरुले मानवले बोकेर हिंड्ने पद, सम्मान, शौर्य, सम्पत्ति, ज्ञान, रुप, सौन्दर्य, बलशक्ति इत्यादिको अहंमा दर्हो झापड हान्दछन् ।

(लेख जगन्नाथ कट्टेलका निजी विचार हुन् )