कोरला नाका खुल्दा मुस्ताङका बासिन्दा खुसी
२०८० मंसिर १, शुक्रबार ०९:५६
चार वर्षको अवरुद्धपछि मुस्ताङको कोरला नाका व्यावसायिक सञ्चालनमा आएको छ । चीन सरकारले कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै सन् २०२० मा पूर्ण सीमा नाका बन्द गरेको थियो ।
गत कात्तिक ३ गते सोमबार नाका खुलेपछि मुस्ताङवासीमा उत्साह छाएको छ ।
चेकपोइन्ट सञ्चालनको उद्घाटनको दिन, मुस्ताङका बासिन्दाहरू ठूलो संख्यामा उत्सुकताका साथ कोरला पुगेका थिए।
नाका बन्द हुँदा उपल्लो मुस्ताङका दुई गाउँपालिकाका बासिन्दाको जनजीवन प्रभावित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भर्खरै भएको चीन भ्रमणका क्रममा दुई देशबीच सीमा नाका खोल्ने सहमति भएको थियो ।
चीन सरकारले माथिल्लो मुस्ताङका बासिन्दालाई विशेष ध्यान दिँदै नाका पुनः सक्रिय गरेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त र चीनको सिगात्से प्रान्तको झोम्बा काउन्टीका प्रमुख नुरबु छिरिङको नेतृत्वमा उक्त चौकीको उद्घाटन गरिएको थियो
चीन सरकारसँगको सहकार्यमा कोरलामा सशस्त्र प्रहरी बलका लागि बोर्डर आउटपोस्ट (बीओपी) र अस्थायी भन्सार कार्यालयलगायत अत्यावश्यक अस्थायी पूर्वाधार निर्माण गरिएको छ ।
नेपालतर्फ सीमा नाका सञ्चालनका लागि भौतिक संरचना नभएकाले अस्थायी भवन निर्माणका लागि चिनियाँ सरकारले कन्टेनर उपलब्ध गराएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टाशी न्हार्बु गुरुङले जानकारी दिनुभयो । चीनले सीमा नाका खुलेको उपलक्ष्यमा उपल्लो मुस्ताङका जनतालाई एक लाख केजी खाद्यान्न समेत उपलब्ध गराएको उनले बताए ।
उपल्लो मुस्ताङका बासिन्दा प्रायः चिनियाँ उपभोग्य वस्तुमा निर्भर छन् । पोखरा, बेनी हुँदै माथिल्लो मुस्ताङ पुग्ने सामान चीनबाट आयात हुने सामानभन्दा तीन गुणा महँगो छ । नाका सञ्चालनमा आएसँगै दैनिक उपभोग्य बस्तु, लत्ताकपडा र निर्माण सामाग्री सुपथ मुल्यमा आयात भएको लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष छायुमी विष्ट गुरुङले बताइन् ।
“विगत चार वर्षदेखि नाका पूर्णरुपमा बन्द हुँदा उपल्लो मुस्ताङका बासिन्दाको दैनिकी कष्टकर बनेको छ, महँगो मूल्यमा सामान ल्याउनुपर्ने बाध्यता छ । सीमा नाका नियमित सञ्चालनमा आएसँगै सामान ओसारपसार भएको छ । चीनबाट धेरै सस्तोमा आउन थालेको छ,’ उनले भनिन्।
लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दालाई नाकाबाट आवतजावत गर्न एक महिनाअघि अनुमति वितरण गरिएको थियो । अनुमति पत्रका आधारमा माथिल्लो मुस्ताङका सबै सवारीसाधन कोरला नाकाबाट आवतजावत गर्न दिइनेछ ।
लोमान्थाङ गाउँपालिका भर्छाका वडा नं २ का अध्यक्ष कर्मा नामगेल गुरुङले सीमा नाका सञ्चालनमा आएसँगै व्यावसायिक गतिविधि हुन थालेपछि स्थानीयवासी उत्साहित भएको बताए




