अन्नपूर्ण संरक्षण क्षेत्रमा कात्तिक महिना (अक्टोबरदेखि मंसिरको मध्यसम्म) २४ हजार ४०९ विदेशी पर्यटकले भ्रमण गरेका थिए ।

जसमा दक्षिण एसियाली मुलुकका ७ हजार ४ सय ७९ र अन्य देशका १६ हजार ९३० पर्यटक रहेका छन् ।

विसं २०८० को शुरुवातदेखि वैशाख र असोजपछि कात्तिक महिना तेस्रो धेरै पर्यटक आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना वा एसीएपीका प्रमुख डा रविन कडारियाले बताए

वैशाखमा ३१ हजार ९५१ पर्यटकले एसीएपी क्षेत्रको भ्रमण गरेका थिए भने २८ हजार ७०५ पर्यटक यस क्षेत्रमा पुगेका थिए ।

विसं २०८० को सात महिनामा एक लाख २५ हजार ५३४ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रमा भ्रमण गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यो संख्या ९५ हजार ९११ थियो ।

‘कोभिड–१९ महामारीका कारण सुस्ताएको अन्नपूर्ण क्षेत्रको पर्यटनले विस्तारै गति लिइरहेको छ’, डा कडारियाले भने, ‘वर्षको दोस्रो पर्यटकीय सिजन सुरु हुँदासम्म पर्यटकको आगमन बढ्ने सम्भावना छ ।

अन्नपूर्ण सर्किटमा आउने विदेशी पर्यटकको मात्रै तथ्यांक एसीएपीले राखेको छ । आन्तरिक पर्यटकको संख्या यकिन हुन सकेको छैन । तर, सडकबाट मुस्ताङ र मनाङ घुम्न आउने आन्तरिक पर्यटक भने उल्लेख्य छन् ।

अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोराङ्गला पास, माथिल्लो मुस्ताङ, घोडेपानीलगायत अन्नपूर्ण सर्किटका विभिन्न गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको डा कडारियाले बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र ७६०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

हालैको नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पनि अन्नपूर्ण आधार शिविर पुगेका थिए