राष्ट्रियसभा निर्वाचनको मिति तोक्न सरकारलाई आयोगको सुझाव
२०८० मंसिर ७, बिहीबार १७:५५
निर्वाचन आयोगले आगामी माघ १५ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गराउने मिति तोक्न सरकारलाई सुझाव दिएको छ । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आगामी फागुन ३ गते सकिँदैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न आएका आयोगका पदाधिकारीहरुले यस्तो सुझाव दिएका हुन् ।
सो अवसरमा प्रधानमन्त्री दाहालले आयोगको सिफारिसअनुसार सरकारले निर्वाचनको मिति घोषणा गर्ने उल्लेख गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
संविधानको धारा ८६ (३) बमोजिम राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आगामी फागुन ३ गते सकिँदै छ र पदावधि समाप्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन हुनुपर्ने कानुनी व्यवस्था छ ।
सरकारबाट मनोनित एकसहित २० सदस्यको पद आगामी फागुन ३ गतेदेखि रिक्त रहने भएको छ । निर्वाचन आयोगले राष्ट्रिय जनगणना २०७८ अनुसार प्रदेशसभा सदस्यको ५३ र प्रमुख वा उपप्रमुखका लागि १९ र प्रदेशसभा सदस्यको मतको तौल निर्धारण गरिसकेको छ ।




