दशैं ,तिहार र छठमा सिजनमा ६१ हजारले पाथीभरा भ्रमण
२०८० मंसिर ८, शुक्रबार ०७:०४
यस दशै, तिहार र छठमा ६१ हजारभन्दा बढी तीर्थयात्री ताप्लेजुङ जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमालुङ) पुगेका थिए । दशैं र तिहारलाई मन्दिर दर्शनका लागि उत्तम समय मानिन्छ ।
यस वर्ष पाँच सातासम्म चलेको चाडपर्वमा ६१ हजार ५६६ भक्तजनले दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
दशैंको पहिलो दिन घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको अन्तिम दिनसम्म २५ हजार ६३८ भक्तजनले मन्दिरमा दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए । बाँकी भक्तजन दशैंपछि मन्दिरमा पुगेका थिए ।
समुन्द्र सतहबाट ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिर दर्शन गर्न विशेषगरी ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुमलगायत जिल्लाका तीर्थयात्री आउने गर्दछन् ।
यसका साथै राजधानी काठमाडौंसँगै सिक्किम, दार्जिलिङ, आसाम, कोलकातालगायत भारतका विभिन्न स्थानबाट पनि मन्दिर दर्शन गर्ने गरेको समितिले जानकारी दिएको छ ।
यसैबीच पाथीभरा क्षेत्र विकास समितिका नवनिर्वाचित कार्यकारी निर्देशक प्रजिन हाङबाङले बुधबार पदभार ग्रहण गरेका छन् । कार्यालय जिल्ला सदरमुकाम फुङलिङमा रहेको छ ।
समितिका सभापति राक्की थेबेले हाङबाङलाई कार्यभार सम्हाल्नुका साथै उहाँको कार्यकालमा रचनात्मक कार्य र सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
सोही दिन समितिले निवर्तमान कार्यकारी निर्देशक मनमणि काफ्लेलाई विदाई गर्दै प्रशंसापत्रले सम्मान गरेको थियो ।
मंसिर २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले हाङबाङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।




