कागबेनी–कोरला सडक कालोपत्र हुने भयाे
२०८० मंसिर ११, सोमबार ०७:१४
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको कागबेनीदेखि कोरलासम्मको १०३ किलोमिटर सडक कालोपत्रको काम सुरु भएको छ ।
सडकखण्ड यसअघि नै ग्राभेल भइसकेको छ ।
आयोजनाका अनुसार कागबेनीको कोरला नाका खुलेपछि सडकबाट आवतजावत सहज बनाउन सडक कालोपत्र गर्ने काम भइरहेको थियो । सडक ग्राभेल भइसकेकाले अब कालोपत्रका लागि आवश्यक बजेट अर्थ मन्त्रालयसँग माग्ने तयारीमा अधिकारी छन् । मन्त्रालयमा पेस गर्ने प्रस्ताव तयार भइसकेको बताइएको छ ।
यसैबीच, ठेकेदारलाई जिम्मा दिएर जोमसोमदेखि कागबेनीसम्मको १३ किलोमिटर सडक कालोपत्रको काम सुरु भएको छ ।
कालीगण्डकी करिडोर (बेनी–जोमसोम) सडक आयोजनाका इन्जिनियर अच्युत बिलास पन्तले चालु आर्थिक वर्ष २० किलोमिटर सडक कालोपत्रे गर्ने अनुमानित बजेटसहितको प्रस्ताव अर्थ मन्त्रालयमा पेश गर्ने तयारी भइरहेको बताए । । उनले केही दिनभित्रै प्रस्ताव पेश गर्ने बताए ।
म्याग्दी खण्डअन्तर्गत गलेश्वरदेखि नारच्याङसम्मको सडक कालोपत्र गर्न निर्माण कम्पनीलाई सम्झाएर निर्देशन दिएको पन्तले बताए । उनले निर्माणाधीन मालढुङ्गा–बेनी सडक आयोजनाको ढिलाइका कारण ठेक्का तोड्ने विचार गरिरहेको बताए ।
यसैबीच, सोही आयोजनाअन्तर्गतको बेनी–गलेश्वर सडकखण्डको २१ सय मिटर सडकको शनिबार प्राइम कार्ड राखेर कालोपत्रको काम शुरु गरिएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा सुरु भएको बेनी–जोमसोम कोरला सडक दुई लेनको कालोपत्र र ग्राभेलिङलगायत स्तरोन्नति आयोजनाले ७५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । १३ खण्डमध्ये आठ खण्डको निर्माण सम्पन्न भएको छ ।
कठिन भूगोल, प्राकृतिक प्रकोप र निर्माण कार्यमा भएको ढिलाइका कारण म्याग्दी खण्डमा सडक निर्माणले अपेक्षित गति लिन सकेको छैन ।
म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन आयोजनाको लागत र गत आर्थिक वर्षमा ६ अर्ब खर्च भएको थियो ।
हालसम्म ६ खण्डमा ८५ किमी ग्राभल र दुई खण्डमा १७ किमी कालोपत्रको काम सम्पन्न भएको छ ।




